अमेरिका र अस्ट्रेलिया समूह ‘डी’को दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै छन् । यी दुवै टोलीका लक्ष्य नकआउट चरण पुग्ने हुनु हो । अमेरिकाको लुमन फिल्डमा हुने खेलमा अमेरिका र अस्ट्रेलिया शतप्रतिशत दुई जितका साथ अगाडि बढ्न चाहन्छन् । पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ ले हराएको थियो । अमेरिका अहिलेसम्म सेमिफाइनल पुग्न सकेको छैन । ३२ वर्षपछि घरेलु मैदानमा फर्किएको विश्वकपमा अमेरिका नयाँ कीर्तिमान बनाउने योजनामा छ । प्रशिक्षक माउरिसिओ पोचेटिन्हो यसपटक टोलीलाई नयाँ बाटो देखाउन तयार छन् । त्यसको छनक पहिलो खेलमा पनि देखियो । अमेरिका सन् १९३० पछि नै विश्वकपमा लगातार दुई खेल जित्ने रणनीतिमा छ ।
पाराग्वेविरुद्ध फोलारिन बोलोगुनले दुई गोल गरेका थिए । पहिलो खेलमै गोल गरेका जिओभानी रयन, डोनिअन बोबा अमेरिका मुख्य खेलाडीमा पर्छन् । कप्तान क्रिस्टियन पुलिसिक घाइते छन् । यसको फाइदा अस्ट्रेलियाले उठाउन सक्छ । युरोपेली राष्ट्र टर्कीलाई २–० ले स्तब्ध बनाएको एसियन टोली अस्ट्रेलिया फर्ममा छ ।
अस्ट्रेलिया सन् २०२२ मा ट्युनिसिया र डेनमार्कलाई हराउँदै समूह चरणबाट नकआउट चरण पुगेको थियो । यसपटक अस्ट्रेलिया गत संस्करणकै नतिजा दोहोर्याउने पक्षमा छ । टर्कीलाई हराउँदा नेस्टोरी इरानकुन्डा नायक बनेका थिए । कनर मेटक्याल्फले अर्को थोल थपेका हुन् । प्रशिक्षक पोपोभिक दोस्रो खेलमा पनि यी दुई खेलाडीलाई नै अट्याकको जिम्मेवारी दिनेछन् । यी दुईलाई मध्यभागबाट ऐडेन ओनेइल, मोहम्मद टोउरले नै साथ दिनेछन् । टर्कीविरुद्ध १४ प्रहार क्लियर गरेका ह्यारी सटर सबैको नजरमा हुनेछन् ।
विश्वकपमा पहिलोपटक भिड्दै
अस्ट्रेलियाको बलियो पक्ष गोलरक्षक प्याट्रिक हुन् । उनले टर्कीका आठ उत्कृष्ट प्रहार बचाउ गरेका थिए । फिफा वरीयतामा अस्ट्रेलियाभन्दा अमेरिकामाथि छ । वरीयतामा अमेरिका १७औँ तथा अस्ट्रेलिया २७औँ वरीयतामा छ । दुई टोलीबिच विश्वकपमा पहिलो भेट हो । यद्यपि, सन् १९९२ देखि सन् २०२५ सम्म दुई टिमबिच चारपटक भेट भएको छ । सन् २०१० मा अमेरिकाले अस्ट्रेलियालाई ३–१ ले र सन् २०२५ मा २–१ ले हराएको थियो । समूहको अर्को खेलमा टर्की र पाराग्वेबिच प्रतिस्पर्धा हुनेछ ।
प्लेयर्स टु वाच
फोलारिन बोलोगुन (अमेरिका)
बोलोगुनले विश्वकपको पहिलो खेलमै दुई गोल गरे । पाराग्वेविरुद्ध ४–१ को जितपछि घरेलु टोली अमेरिकाको मनोबल उच्च छ । यसपटक पूरा अमेरिकन टिमले बोलोगुनमाथि विश्वास गरेको छ । त्यसैले अस्ट्रेलियाविरुद्ध पनि उनी मुख्य हतियार हुनेछन् । २४ वर्षीय युवा स्ट्राइकर फ्रेन्च क्लब मोनाकोबाट खेलिरहेका छन् । सन् २०२३ बाट फ्रेन्च लिग खेलिरहेका बोलोगुनले सोही समयदेखि नै अमेरिकाबाट खेलेका हुन् । त्यसअघि इंग्ल्यान्डको विभिन्न उमेर समूहबाट उनले खेले । बोलोगुन अमेरिकामा जन्मिए पनि उनका परिवार नाइजेरियाबाट लन्डन बसाइँसराइ गरेका थिए ।
कनर मेटक्याल्फ (अस्ट्रेलिया)
टर्कीविरुद्ध सानदार प्रदर्शनपछि कनर सबैको नजरमा परेका छन् । टर्कीसँगको खेलमा उनले ७५औँ मिनेटमा गोल गर्दै महŒवपूर्ण तीन अंक दिलाएका थिए । घरेलु टोली अमेरिकाविरुद्ध कर्नरलाई नेस्टोरी इरानकुन्डाले साथ दिनेछन् । दुई जोडीको तालमेल हेर्नलायक हुनेछ । २६ वर्षीय खेलाडी सेन्ट्रर फरवार्ड कनरले डिबक्सभित्र विपक्षी डिफेन्डरलाई सहजै झुकाउन सक्छन् । उनले अस्ट्रेलियाबाट ३५ भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । कनरले व्यावसायिक फुटबल जर्मनीको एफसी सेन्ट पाउलीबाट खेल्दै आएका छन् । सन् २०२२ देखि यही क्लबमा रहेका उनले ९५ खेल खेलिसकेका छन्, जुन अनुभव उनले यो विश्वकपमा देखाइरहेका छन् ।