बिहीबार १० बजेसम्मका प्रमुख १० खबर

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

प्रतिनिधिसभाबाट विनियोजन विधेयक–२०८३ बहुमतले पारित

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित भएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सदनबाट स्वीकृत भएको हो।

विधेयकमाथिको निर्णयअघि सभामुख डोलप्रसाद अर्यालले दफा २ देखि ११ सम्मलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। साथै, विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकमाथि सांसदहरूले दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरू भने बहुमतले अस्वीकृत भएका छन्।

अर्थमन्त्री डा. वाग्लेले गत जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट प्रस्तुत गरेका थिए। 

विपत् प्राधिकरणको सिइओका लागि १६ जनाको दरखास्त

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत(सिइओ) पदका लागि १६ जनाको आवेदन परेको छ। गृह मन्त्रालयले खुला प्रतिस्पर्धाबाट सिइओ नियुक्ति प्रक्रिया अघि बढाएको हो। 

निवर्तमान सिइओ दिनेशप्रसाद भट्टले समेत दरखास्त दिएका छ्न। त्यस्तै, प्रेमसिंह नायक, गौरवसागर दवाडी, रञ्जन ढुंगेल, निरण महर्जन, बसन्तराज अधिकारी, दीपेन्द्रविक्रम थापा क्षेत्री, रामनाथ ओझा, डा. धर्मराज उप्रेती, डा. गणेशकुमार जिमी, इ. भेषराज पोखरेलको दरखास्त छ। त्यस्तै, लोकविजय अधिकारी, डा. अनन्तमानसिंह प्रधान, अमृतप्रसाद शर्मा, सिद्धार्थनरसिंह शर्मा र प्रगति भट्टराईले दरखास्त दिएका हुन्। 

सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा

नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महराले स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट बाहिरिएको प्रस्ट्याएका छन्।

पार्टीको साधारण सदस्य मात्र रहने निर्णय गरेको उल्लेख गर्दै महराले नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्। 

लेबी नतिर्ने रास्वपा प्रतिनिधिले महाधिवेशनमा प्रवेश नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टीले लेबी नतिर्ने प्रतिनिधिहरूलाई महाधिवेशनमा प्रवेश नदिने भएको छ। पुरानो पदअनुसारको लेबी नतिर्नेहरूलाई अधिवेशनमा प्रवेश गर्न नदिने निर्णय भएको रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।

‘चितवनमा हुने पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी तिरेको हुनुपर्नेछ। लेबी नतिरेको सदस्यहरूलाई अधिवेशनमा प्रवेशमा रोक लगाइनेछ,’ उनले भने।

म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान

भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा गर्न भूमि व्यवस्थापन तथा अभिलेख विभागले आग्रह गरेको छ।

विभागले देशभरका भूमि प्रशासन तथा मालपोत कार्यालयहरूलाई पत्राचार गर्दै भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको हो।

पोखरा बसपार्क क्षेत्रमा पहिलो दिन दुई सय संरचना भत्काइयो

पोखरा महानगरपालिका– ९, पृथ्वीचोकस्थित पोखरा बसपार्क क्षेत्रमा लालपुर्जा भएका जग्गासहित जग्गा अतिक्रमण गरेर बनाइएका केही संरचनामा डोजर चलेको छ। पोखरा उपत्यका नगर विकास समितिले बसपार्क क्षेत्रमा निर्माण गरिएका दुई सय घर टहरामा बिहीबार डोजर चलाएको हो।

यसअघि समितिले गत ४ वैशाखमा ३५ दिने र त्यसपछि ९ जेठमा पुनः १५ दिने सूचना जारी गर्दै अतिक्रमण गरिएका संरचना हटाउन भनेको थियो। यसैगरी, ९ जेठमा बसपार्क क्षेत्रभित्र जग्गाधनी प्रमाणपत्र भएका जग्गाधनीहरूलाई सात दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चालू आवको सम्पत्ति-भूमिकर तिरेको रसिद र जग्गासम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशनसँगै सटर कवल १५ दिनभित्र हटाउन भनेको थियो।

पुनर्निर्माण हुँदै छ भैँसेपाटीकाे मन्त्रीनिवास (फोटोफिचर)

जेन–जी आन्दोलनका क्रममा गत वर्ष आगजनी र तोडफोड भएको भैँसेपाटीस्थित मन्त्रीनिवास पुनर्निर्माण कार्य भइरहेको छ। गत भदौ २४ गते प्रदर्शनकारीले मन्त्री क्वाटरमा आगजनी गरेका थिए।

निर्माण भई सञ्चालनमा आएको एक वर्षमा नै आन्दोलनका कारण मन्त्रीनिवासमा क्षति पुग्यो। अहिले धमाधम पुनर्निर्माण कार्य जारी छ।

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू गठनका लागि सिफारिस समितिको प्रक्रिया अघि बढाएको छ। बिहीबार प्रतिनिधिसभामा आफ्नो मन्त्रालयको विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसबारे जानकारी गराएकी हुन्।

शान्ति सम्झौता भएको २० वर्षको अवधिमा के कस्तो काम भयो भन्नेबारे एकीकृत विवरण तयार पार्ने काम पनि मन्त्रालयले गरिरहेको उनले जानकारी गराइन्।

ठेक्का रद्द हुँदा ठेकेदार नै मर्कामा पर्ने भएकाले दबाब दिएर काम गराउन खोजेको हो : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। बिहीबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले आफ्नो नियत खराब नरहेको बताए।

बैठकमा एमाले सांसद ऐन महरले मन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए। ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नू भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन ? दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे खुट्टा भाँच्नुपर्ने हो ?’ उनले प्रश्न गरे।

सेयर बजारमा गिरावट, नेप्से २७ सय विन्दुमा

बिहीबार सेयर बजारका अधिकांश सूचकमा गिरावट आएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो। नेप्से ५.०६ अंकले घटेर दुई हजार ७००.४७ विन्दुमा कायम भएको छ।

आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन तीन अर्ब ६३ करोडको सेयर खरिद–बिक्री भएको थियो।

१३ समूहमध्ये आज बैंक, वित्त, लघुवित्त, म्युचल फन्ड र व्यापार समूह वृद्धि हुँदा बाँकी समूह घटेका छन्। सबै समूहको परिवर्तन एक प्रतिशतभन्दा कम छ। समग्रमा ७६ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको मूल्य घटेको छ।

सुझावित समाचार