नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्। बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै महराले स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिबाट बाहिरिएको प्रस्ट्याएका छन्।
पार्टीको साधारण सदस्य मात्र रहने निर्णय गरेको उल्लेख गर्दै महराले नयाँ पुस्ताका ऊर्जावान युवाहरूले देशलाई अझ समृद्ध, आत्मनिर्भर र सम्मानित राष्ट्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले भनेका छन्, ‘केही वर्षयता म एट्रोफीसम्बन्धी रोगबाट पीडित छु। नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ।’
कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण यो निर्णय नगरेको पनि महराले स्पष्ट पारेका छन्। ‘मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समृद्ध नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।
