बिहीबार सेयर बजारका अधिकांश सूचकमा गिरावट आएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो। नेप्से ५.०६ अंकले घटेर दुई हजार ७००.४७ विन्दुमा कायम भएको छ।
आज ३४७ कम्पनीका ७७ लाख ४३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँको कारोबार भएको छ। अघिल्लो दिन तीन अर्ब ६३ करोडको सेयर खरिद–बिक्री भएको थियो।
१३ समूहमध्ये आज बैंक, वित्त, लघुवित्त, म्युचल फन्ड र व्यापार समूह वृद्धि हुँदा बाँकी समूह घटेका छन्। सबै समूहको परिवर्तन एक प्रतिशतभन्दा कम छ। समग्रमा ७६ कम्पनीको सेयर मूल्य बढ्दा १८२ कम्पनीको मूल्य घटेको छ।
एपोलो हाइड्रो र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा आत्मनिर्भर लघुवित्त र बुंगाल हाइड्रोका लगानीकर्ताले क्रमशः १२ र ८ प्रतिशतभन्दा धेरै कमाएका छन्। सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड र आँखु ओला जलविद्युतका लगानीकर्ता छन्। यी कम्पनी चार प्रतिशतभन्दा धेरैले ओरालो लागेका हुन्।