विश्वकप आयोजक राष्ट्रहरूलाई इंग्ल्यान्डका समर्थक खुबै मनपर्छ । इंग्लिस समर्थक आउँदा उनीहरू दंग पर्छन् । साथसाथै आयोजकलाई सुरक्षाको चुनौती पनि उत्तिकै हुन्छ । इंग्ल्यान्डका समर्थक विदेशी भूमिमा फुटबल हेर्न जाँदा आर्थिक रूपमा आयोजकलाई फाइदा नै फाइदा हुन्छ । अन्य राष्ट्रका तुलनामा इंग्लिस समर्थक मजाले खर्च गर्छन् । खर्च गर्ने पक्षमा उनीहरूको कुनै सीमा नै छैन ।
फाइदा हेरिरहँदा आयोजकले चुनौती सामना गर्नुपर्छ । जब इंग्लिस समर्थक ती राष्ट्रमा पुग्छन् । रातभरि होहल्ला तथा उपद्रो मच्चाउने गर्छन् । एक किसिमले सहर वा नाइट क्लबको वातावरण नै तोड्ने काम गर्छन् । जुन अघिल्ला विश्वकप तथा युरोकपलाई हेर्न सकिन्छ । त्यस्ता समर्थकलाई नियन्त्रणमा लिन आयोजकले कडा सुरक्षा व्यवस्था अपनाएको हुन्छ । यसपटक अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा २३औँ संस्करणको विश्वकप आयोजना गरिरहेका छन् । इंग्ल्यान्ड विश्वकपमा पुग्दा हजारौँ इंग्लिस समर्थक खेल हेर्न जान्छन् ।
अमेरिकामा पनि अहिले अन्य राष्ट्रको तुलनामा इंग्ल्यान्डका समर्थक धेरै छन् । इंग्ल्यान्डले क्रोएसियाविरुद्ध समूहकै पहिलो खेल खेल्नेछ । क्रोएसियासँग प्रतिस्पर्धा गर्नुअघि नै इंग्लिस समर्थकले अघिल्लो दिन अमेरिकाको होस्टन सहरमा आफ्नो छवि प्रस्तुत गरेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
ती समर्थकले नाइट डिस्कोमा अबेर रातिसम्म मनोरञ्जन गरेका थिए । त्यसपछि सडक–सडकमा होहल्ला गर्दै बसे । स्थानीय प्रहरीलाई पाहुना समर्थकलाई सम्झाउन निकै बेर लागेको थियो । यद्यपि, रक्सीले मातेका इंग्लिस समर्थक भने प्रहरीका कुरा सुन्ने पक्षमा थिएनन् । प्रहरीले उनीहरूलाई आ–आफ्नो होटेलसम्म जान आग्रह गरेको थियो । स्थानीय प्रशासनको नियमभन्दा बाहिर क्रियाकलाप गरेको प्रहरीले जनाउँदा इंग्लिस समर्थक शान्त भएका थिए । यद्यपि, यो क्रममा प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।
होलिडे अमेरिकामा
विश्वकप चलिरहेका कारण अहिले युरोपियन शीर्ष लिगहरू चलेका छैनन् । विश्वकप सकिएको एक महिनापछि युरोपका विभिन्न प्रिमियर लिग सुरु हुनेछन् । इंग्लिस प्रिमियर, ला लिगा, सिरी ‘ए’, बुन्डेस लिगा तथा फ्रेन्च वान अबको एक महिनापछि सुरु हुनेछन् । यो अवधिमा इंग्ल्यान्डका इंग्लिस प्रिमियर लिगका समर्थक छुट्टीमा छन् । उनीहरू विश्वकपको मौका छोपेरै अमेरिकामा बिदा मनाउन पुगेको एजेन्सीहरूले जनाएका छन् । ‘अहिले इंग्ल्यान्डका समर्थक अमेरिकामा रमाइरहेका छन् । उनीहरूले बिदाको समयलाई भरपूर प्रयोग गरिरहेका छन् । विश्वकपमा इंग्ल्यान्डको समर्थक पनि गर्न पाउने र अमेरिका पनि घुम्न अवसर मिलेको छ,’ होस्टन सहरमा इंग्ल्यान्डलाई समर्थन गर्न पुगेका जोन कालिनले भने, ‘यहाँ थुप्रै साथीहरू आएका छन् ।’ विश्वकपमा इंग्ल्यान्डले यसपटक उपाधि जित्ने उनको विश्वास छ । ‘६० वर्षपछि हाम्रो राष्ट्रले विश्वकप जित्ने विश्वास छ । अब विश्वकप ट्रफीका साथ घर फर्किने योजना छ,’ उनले भने ।
स्कटल्यान्डको पनि साथ
यसपटकको विश्वकपमा स्कटल्यान्ड पनि छ । इंग्ल्यान्डकै छिमेकी राष्ट्र स्कटल्यान्डबाट पनि समर्थक अमेरिका पुगेका छन् । यद्यपि, उनीहरूको स्वभाव इंग्लिस समर्थकहरूको जस्तै छ । खेलअगाडि र पछि रमाउने बानी स्कटिसका हुन् । ‘हामी यहाँ रमाइरहेका छौँ । स्कटल्यान्डलाई समर्थन गर्न आएका हौँ,’ विलियम्सले भने, ‘स्कटल्यान्डले जस्तो नतिजा निकाले पनि रंगशालामा हामी हुन्छौँ ।’ उनले इंग्ल्यान्डका समर्थकजस्तै आफूहरू बिदा मनाउन आएको बताए ।