रास्वपा महाधिवेशनमा तीन हजारहाराहारी प्रतिनिधि यसरी छानिए

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण
  • रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा तीन हजारहाराहारी प्रतिनिधि सहभागी हुनेछन् । पर्यवेक्षक र स्वयंसेवकसमेत चार हजारभन्दा बढीले सहभागिता जनाउने अनुमान छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ७ देखि ९ असारसम्म चितवनमा हुने पहिलो राष्ट्रिय महाधिवेशनका प्रतिनिधि छनोट अन्तिम चरणमा पुर्‍याएको छ । अधिकांश वडा र जिल्लादेखि प्रदेश कमिटीसम्म अधिवेशन गरेको रास्वपाले ४ असारमा महाधिवेशन प्रतिनिधिको सूची टुंग्याएर सार्वजनिक गर्ने तयारी गरेको हो ।

चार हजार ३६३ वडा, ६०९ पालिका, ६४ जिल्ला र ६ प्रदेशमा अधिवेशन सकेको रास्वपाले विवादित पालिका र जिल्लाका हकमा तदर्थ कमिटीबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्नेछ । रास्वपाले महाधिवेशन प्रतिनिधि छान्न ‘केन्द्रीय महाधिवेशन प्रतिनिधि प्रतिनिधित्व तथा छनोट प्रक्रिया’ कार्यविधि नै बनाएको छ । पार्टीको अनुशासन कारबाहीमा परेका वा अनुसन्धानको प्रक्रियामा भएको व्यक्ति तथा पार्टीले तोकेअनुसार सम्बन्धित तहमा लेबी भुक्तान नगरेका व्यक्ति महाधिवेशन प्रतिनिधि बन्न अयोग्य हुने कार्यविधिमा उल्लेख छ ।

रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार महाधिवेशनमा तीन हजारहाराहारी प्रतिनिधि सहभागी हुनेछन् । पर्यवेक्षक र स्वयंसेवकसमेत चार हजारभन्दा बढीले सहभागिता जनाउने अनुमान छ । कार्यविधिले महाधिवेशन प्रतिनिधि दर्ता शुल्क पाँच हजार र पर्यवेक्षकको दर्ता शुल्क पाँच हजार तोकेको तथा आर्थिक रूपमा विपन्न सदस्यका लागि सहायता कोष निर्माण गरी सञ्चालन गर्ने केसीले बताए ।

‘महाधिवेशन प्रतिनिधि छनोट अन्तिम चरणमा छ । प्रतिनिधिको अन्तिम सूची ४ असारसम्म तयार हुन्छ,’ उनले भने, ‘वडादेखि प्रदेशसम्म अधिवेशन भइसकेको छ । तर, कतै–कतै अधिवेशन नभएको अवस्था पनि छ । १३ जिल्लामा अधिवेशन भएन । ती ठाउँमा तदर्थ कमिटीबाट प्रतिनिधित्व कम हुन्छ । प्रवास समितिबाट पनि १७० प्रतिनिधि सहभागी हुँदै छन् । समग्रमा चार हजारहाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।’ प्रवासबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिलाई मोबाइल एप र प्रत्यक्ष उपस्थित हुनेलाई इभिएम मेसिन प्रयोग गरेर मतदान गराइने केसीले बताए ।

कर्णालीमा डोल्पा र हुम्ला, लुम्बिनीको रुकुम पूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेशका धनुषा, सप्तरी, बारा र सर्लाहीमा अधिवेशन प्रक्रिया नै सुरु भएको छैन । त्यस्तै, सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहटमा अधिवेशन प्रक्रिया सुरु भए पनि स्थगित भएको छ । अधिवेशन नभएका जिल्लाबाट न्यून प्रतिनिधि सहभागी हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । मधेश प्रदेशको अधिवेशन स्थगन छ जहाँ राष्ट्रिय महाधिवेशनपछि मात्रै अधिवेशन गरेर नेतृत्व चुनिनेछ ।

फेरियो महाधिवेशन स्थल
रास्वपाले महाधिवेशनस्थल परिवर्तन गरेको छ । यसअघि चितवनको टाँडीस्थित स्टार बेंक्वेट होटल र नजिकको चौरमा टेन्ट हालेर क्रमशः खुला सत्र र बन्द सत्र गर्ने तय गरेकोमा चितवन प्रदर्शनी केन्द्रमा सार्ने निर्णय गरेको हो ।

चितवनको अत्यधिक गर्मीलाई ध्यान दिएर महाधिवेशन स्थल परिवर्तन गरिएको महामन्त्री बुर्लाकोटीले बताए । जिल्लाका पदाधिकारीले महाधिवेशन स्थलसम्बन्धी निर्णय संशोधन गर्न सभापति रवि लामिछानेलाई सुझाएका थिए । उनीहरूकै सुझावअनुसार लामिछानेले वातावरण अनुकूल हुनेगरी चितवन प्रदर्शनी केन्द्रलाई नै तोक्ने निर्णय गरेका हुन् । 
 

See More On

सुझावित समाचार