चिनियाँ उद्योगी व्यवसायीलाई परराष्ट्रमन्त्रीको सम्बोधन : चीनसँग साझेदार बन्न चाहन्छौँ, नेपालमा लगानी गर्नुहोस्

परराष्ट्रमन्त्री खनाल आज फर्किँदै

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ उद्यमीलाई नेपालमा पर्यटन, सूचना प्रविधिदेखि मेडिकल पूर्वाधारलगायत बहुआयामिक क्षेत्रमा लगानीका लागि आह्वान गरेका छन् । आइतबारदेखि चीन भ्रमणमा रहेका उनले मंगलबार नेपाली राजदूतावासमा भेला भएका चिनियाँ व्यावसायिक समुदाय, लगानीकर्ता तथा उद्यमीलाई सम्बोधन गर्दै लगानीका लागि आह्वान गरेका हुन् ।

‘नेपाल सरकार व्यापक संस्थागत रूपान्तरण, कानुनी सुधार र नियामक व्यवस्थालाई सुदृढ गर्न प्रतिबद्ध छ । हामी उच्चस्तरीय भ्रमणको ट्र्याक राख्ने पुरानो कूटनीतिक संस्कृतिबाट टाढा जाँदै छौँ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘चीनको गौरवमय उदयलाई केवल एक निष्क्रिय दर्शक बनेर नेपाल हेर्न चाहँदैन । हामी तपाईंको नवप्रवर्तन अर्थतन्त्रमा एक सक्रिय, मूल्य अभिवृद्धि गर्ने साझेदार बन्न तयार छौँ ।’

परराष्ट्रमन्त्री खनालले २१औँ शताब्दीमा दुई देशबिच फाइबर–अप्टिक केबल, एकीकृत आपूर्ति शृंखला, स्वचालित क्लियरिङ हाउस निर्बाध कनेक्टिभिटीमार्फत सञ्चालन हुनुपर्नेमा स्पष्ट जोड दिएका छन् । ‘हामी तपाईंलाई हाम्रो जनसांख्यिक लाभांश, हाम्रो स्वच्छ ऊर्जा, बृहत्तर दक्षिण एसियाली बजारको प्रवेशद्वारको रूपमा हाम्रो रणनीतिक स्थान र एक पारदर्शी, सुरक्षित र अत्यधिक लाभदायक व्यावसायिक वातावरणप्रति हाम्रो पूर्ण प्रतिबद्धता जनाउँदछौँ । चिनियाँ उद्यमहरूका लागि राजनीतिक रूपमा स्थिर र कानुनी रूपमा सुरक्षित वातावरण प्रदान गर्दछौँ’, उद्यमीलाई सम्बोधन गर्दै उनले भने ।

परराष्ट्रमन्त्री खनालले शीर्षस्तरका चिनियाँ प्रविधि कम्पनी, विशेषगरी इकमर्स, क्लाउड कम्प्युटिङ र एआईका लिडरहरूलाई नेपालमा आफ्ना ग्लोबल क्यापेबिलिटी सेन्टरहरू र संयुक्त नवप्रवर्तन हबहरू स्थापना गर्न आमन्त्रण गरे । ‘हामी बाइडु ताओबाओ, मेइत्वान र एलेमेजस्ता चिनियाँ प्लाटफर्महरूको सञ्चालन उत्कृष्टतालाई संयुक्त प्रविधि उद्यमहरूमार्फत दक्षिण एसियाली बजारअनुकूल बनाउँदै सोहीअनुरूप विस्तार गर्न चाहन्छौँ,’ परराष्ट्रमन्त्री खनालले भने । 

उद्यमीहरूलाई उनले नेपाल भ्रमण गर्न, नेपालमा लगानी गर्न र हिमालयपार समृद्धिको अर्को गौरवशाली अध्याय निर्माण गर्न आह्वान गरे । ‘जसरी युवा अरनिकोले सात शताब्दीअघि बेइजिङमा आफ्नो रूपान्तरणकारी दृष्टिकोण ल्याएका थिए, त्यसरी नै नेपालको युवा, गतिशील र डिजिटली सशक्त पुस्ता आज तपाईंसँग साझेदारी गर्न तयार उभिएको छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘म यहाँ नेपालको नयाँ सरकार, नयाँ राजनीतिक युग र सबैभन्दा महŒवपूर्ण कुरा, एउटा पूर्णतया नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै उभिएको छु । मेरा सहकर्मीहरू र म शिक्षा, प्रविधि, उद्यम र तल्लो तहको विकासजस्ता व्यावसायिक पृष्ठभूमिबाट आएका हौँ । हामी विशुद्ध रूपमा व्यावहारिक दृष्टिकोण (प्याग्मेटिजम), पारदर्शी सुशासनको माग र मापनयोग्य एवं ठोस आर्थिक परिणामहरूमा केन्द्रित संस्थागत प्रयासबाट निर्देशित छौँ ।’

एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धता कूटनीतिक दाउपेच नभएको उनको स्पष्ट धारणा थियो । ‘एक चीन सिद्धान्त कुनै अस्थायी राजनीतिक अडान वा कूटनीतिक दाउपेचको साधन होइन, यो एक निष्ठापूर्ण, गहिरो रूपमा जडिएको कूटनीतिक सिद्धान्त हो, जसमा नेपालले अन्तर्राष्ट्रिय व्यवस्थाको बदलिँदो गतिशीलता जे–जस्तो भए पनि यसमा कहिल्यै सम्झौता गर्दैन,’ खनालले भने, ‘हाम्रो पुरानो छिमेकी विश्वास, पारस्परिक सम्मान र अहस्तक्षेपको संरक्षण हो, जसले हाम्रा सीमाहरूलाई हजारौँ वर्षदेखि शान्त राखेको छ ।’

परराष्ट्रमन्त्री खनालले नवप्रवर्तनमा जोड दिएका छन् । ‘प्राचीन हिमालय सीमापार व्यापारिक र सांस्कृतिक सम्बन्धहरूलाई सम्मान गर्दै हामीले नवप्रवर्तनमा सहकार्य गर्नैपर्छ । हामीले नेपाल–चीन सम्बन्धको भविष्यलाई २०औँ शताब्दीको पुरानो चस्माबाट हेर्न मिल्दैन । हामीले आधुनिक सहकार्यहरूमार्फत नवप्रवर्तन गर्नुपर्छ,’ परराष्ट्रमन्त्री खनालले भने, ‘अब कंक्रिट र स्टिलबाट मात्र नभई डिजिटल सर्किट, वित्तीय नेटवर्क र वैज्ञानिक साझेदारीहरूबाट हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नुपर्छ । हामीले हाम्रा प्राचीन सम्बन्धहरूलाई डिजिटल युगको भाषा प्रयोग गरेर पुनर्जीवित गर्नुपर्छ ।’

परराष्ट्रमन्त्री खनालले चिनियाँ प्रविधि निगमहरूका लागि नेपालमा डेटा प्रोसेसिङ सेन्टर र क्लाउड हबहरू स्थापना गर्न आह्वान गरे । ‘यसो गर्दा तपाईंलाई शून्य–कार्बन फुटप्रिन्टको नजिक रहेर काम गर्ने अवसर मिल्दछ । तपाईं हाम्रो अत्यधिक प्रतिस्पर्धी श्रम लागत र प्राविधिक प्रतिभाको उपयोग गर्दै आफ्ना कडा हरित संक्रमणका लक्ष्यहरू पूरा गर्न सक्नुहुन्छ,’ उनले भने । 

उनले हामी चिनियाँ मेडिकल डिभाइस उत्पादकहरू र प्रिसिजन इन्स्ट्रुमेन्ट इलेक्ट्रोनिक्स फर्महरूलाई नेपालका विशेष आर्थिक क्षेत्रहरूमा लगानी गर्न आह्वान गरे । ‘आफ्ना स्वचालित एसेम्बली लाइनहरू र माइक्रो–इलेक्ट्रोनिक्स उत्पादन नेपालमा ल्याउनुहोस्, हाम्रो दक्ष र मिहिनेती कार्यबलको उपयोग गर्नुहोस् र यी उच्च–नाफा, कम–तौलका उत्पादनहरू पुनः चीन र विश्वभर निर्यात गर्नुहोस्,’ उनले भने । 

चीनसँगको व्यापार असन्तुलनमा नेपाल मात्र एक्लो देश नभएको तर यसलाई न्यून गर्न नेपाल सरकारको प्राथमिकतामा सहकार्य गर्न चिनियाँ लगानीकर्तालाई उनले अनुरोध गरे । ‘हामी चिनियाँ पुँजीलाई सीमापार गर्न, हाम्रो भूमिभित्र उत्पादन केन्द्रहरू निर्माण गर्न, व्यापार घाटालाई यसको स्रोतबाटै सच्याउन र क्षेत्रीय बजारहरूका लागि नेपाललाई एक प्रतिस्पर्धी प्रक्षेपण केन्द्रका रूपमा प्रयोग गर्न तपाईंहरूलाई निमन्त्रणा गर्छौँ,’ परराष्ट्रमन्त्री खनालले भने । 

चीन सरकारको १५औँ पञ्चवर्षीय योजनामा उल्लेखित राष्ट्रिय प्राथमिकता र नेपालको आर्थिक रणनीतिबिच सहकार्य र साझेदारीमा उनले जोड दिए । प्राविधिक आत्मनिर्भरता, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स र औद्योगिक आपूर्ति शृंखलाहरूको विवेकपूर्ण सीमापार सीमा व्यवस्थापनलाई चीनले उच्च प्राथमिकता दिएको छ । ‘चीन अर्को पुस्ताका बौद्धिक टर्मिनल र सेवा उपभोगको विस्तार गर्दै सन् २०३५ सम्ममा एउटा एआई–सञ्चालित समाज बन्ने लक्ष्यका साथ उच्च–गुणस्तरको, नवप्रवर्तन–सञ्चालित अर्थतन्त्रमा रूपान्तरण हुँदै छ । नेपाल यो क्रस–बोर्डर म्यान्डेट पूरा गर्नका लागि एक आदर्श साझेदार हो,’ परराष्ट्रमन्त्री खनालले भने । 

सरकारले नेपालको परम्परागत कमजोर, गरिब र सहायता–निर्भर राष्ट्रको छवि परिवर्तन गर्न चाहेको उनले उल्लेख गरे । ‘हामी नेपाललाई अवसर, क्षमता र गतिशील युवाहरूको दृष्टिकोणबाट हेर्न तपाईंहरूलाई आमन्त्रण गर्दछौँ,’ खनालले भने । 

नेपालको प्राविधिक इकोसिस्टममा ६ हजारभन्दा बढी साना तथा मझौला दर्ता भएका प्रविधि कम्पनीहरू, ६६ हजारभन्दा बढी सक्रिय प्राविधिक फ्रिलान्सरहरूको कार्यबल र वार्षिक लगभग एक अर्ब अमेरिकी डलरको आइटी सेवा निर्यात समावेश रहेको उनले बताए । परराष्ट्रमन्त्री खनालले थपे, ‘चीनको १५औँ पञ्चवर्षीय योजनाले आफ्ना इन्टरनेट दिग्गजहरू, इ–कमर्स प्लाटफर्महरू र एआई उद्यमहरूलाई उनीहरूको अन्तर्राष्ट्रिय अनुप्रयोगहरू विस्तार गर्न र बौद्धिक सेवाहरूलाई अनुकूलन गर्न आग्रह गरिरहँदा, नेपाल तपाईंको प्रमुख मानव पुँजी साझेदारको रूपमा उभिएको छ ।’ 

उनले चिनियाँ कृषि–व्यवसाय र बायो–टेक कम्पनीहरूलाई नेपालका उत्तरी आर्थिक कोरिडोरहरूमा आफ्ना उन्नत प्रशोधन, भ्याकुम–ड्राइङ, ग्रेडिङ र कोल्ड–स्टोरेज प्रविधिहरू ल्याउन आमन्त्रण गरे । ‘पर्यटकहरूको ठुलो आगमनका लागि बलिया, विश्वस्तरीय पूर्वाधार आवश्यक पर्दछ । यही कारण हामी चिनियाँ पुँजीलाई हाम्रा होटेल, यातायात सञ्जाल र प्रिमियम आतिथ्य सेवाहरूमा गहिरो लगानी गर्न आमन्त्रण गर्दछौँ,’ परराष्ट्रमन्त्री खनालले भने ।

चिनियाँ कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग भेट
परराष्ट्रमन्त्री खनालले मंगलबार चिनियाँ कम्युनिस्ट पार्टीका चौथो वरीयताका शीर्ष नेता एवं चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिनसँग ग्रेट हल अफ द पिपुलमा भेटवार्ता गरेका छन् । परराष्ट्रमन्त्री खनालले सोमबार चिनियाँ विदेशमन्त्री वाङ यीसँग स्टेट गेस्टहाउस दियाउथाईमा भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री खनाललाई चीनले दियाउथाई गेस्टहाउसमा राखेको छ । 

‘चीन दुवै देशका नेताहरूको रणनीतिक मार्गदर्शनमा नेपालसँग मिलेर काम गर्न, उच्चस्तरीय आदानप्रदान कायम राख्न, राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ गर्न इच्छुक छ,’ वाङलाई उद्धृत गर्दै सिपिपिसिसीद्वारा जारी नोटमा छ, ‘व्यावहारिक सहयोगलाई गहिरो बनाउन र दुवै देशका जनतालाई अझ राम्रो फाइदा पुर्‍याउन चीन–नेपाल सम्बन्धको निरन्तर विकासलाई अगाडि बढाउन चीन इच्छुक छ ।’ अध्यक्ष वाङले सात वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्मरण गरेका थिए ।

परराष्ट्रमन्त्री खनालले चीनको १५औँ पञ्चवर्षीय योजना सुरुवात भएकोमा बधाई ज्ञापन गर्दै राष्ट्रपति सीको नेतृत्वमा चीन एक सुदृढ आधुनिक समाजवादी मुलुक बन्ने विश्वास व्यक्त गरे । उनले नेपाल ‘एक चीन सिद्धान्त’प्रति दृढतापूर्वक प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली भूमिलाई कुनै पनि हालतमा चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिने वचन दोहोर्‍याएका छन् । चीनसँगको सहकार्य विस्तार गर्दै विकास र समृद्धिको साझा लाभ हासिल गर्न नेपाल इच्छुक रहेको उनको भनाइ थियो । परराष्ट्रमन्त्री खनाल चीनको औपचारिक भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।
 

सुझावित समाचार