नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा प्रतिवादीका कानुन व्यवसायीको बहस सुरु भएको छ । सोमबार पूर्वगृहसचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीले गलत रूपमा अनुसन्धान तथा अभियोजन गरिएको भन्दै अनुसन्धानकर्तालाई दण्डित गर्नुपर्ने बताए।
पाण्डेका कानुन व्यवसायी राजकुमार सुवालले परिकल्पनाका आधारमा राज्यविरुद्धको कसुर मुद्दा चलाइएको दाबी गरे । ‘प्रहरी अनुसन्धान जसले लिड गरे उसलाई प्रोमोट गरियो । यसरी यो देश कहाँ जान्छ श्रीमान्?’ अधिवक्ता सुवालले न्यायाधीश तेजबहादुर खड्काको इजलाससामु भने, ‘गलत अनुसन्धान गर्ने प्रहरीलाई त विभागीय कारबाही हुनुपर्छ ।’ पाण्डेलाई राज्यविरुद्धको अपराधको कसुर लगाउने कार्यबाट अपराधको राजनीतीकरण भएको उनको भनाइ थियो ।
तत्कालीन सरकारमा बसेको, अभियोजन गर्ने पक्ष र प्रहरी अधिकारीलाई जस लिनेभन्दा बाहेक यस प्रकरणको फाइदा कसैलाई नरहेकाले गलत रूपमा यो प्रकरण ल्याइएको उनको भनाइ थियो । सचिवले आफैँले गलत प्रतिवेदन तयार गर्न सम्भव नहुने भन्दै उनले अरूलाई चाहिँ चोख्याइएको सुवालको तर्क थियो । ‘सचिव आफैँले ल्यापटप लिएर एउटा डकुमेन्ट बनाउँछ होला त? कि अरू कसैले बनायो? अरूलाई सुनपानी हालेर, सरकारी साक्षी बनाएर चोख्याइयो कि? प्रतिवेदन ओन गर्ने, जिम्मेवारी लिने शाखाका कर्मचारीलाई सरकारी साक्षी बन, नत्र मुद्दा लगाइदिन्छु भन्यो भने के हुन्छ?’ उनले इजलाससामु भने । गृहसचिवले चासो लिएको भनेर भनेकै भरमा राज्यविरुद्धको कसुरको दाबी लिनु गलत भएको उनको भनाइ थियो ।
अधिवक्ता सुवालले प्रतिवेदन मात्र बनेको भरमा नेपाली नागरिक भुटानी शरणार्थी बनी अमेरिका गएको नदेखिएको तथा गएमा पनि मानव बेचबिखनको कसुर लाग्नुपर्ने जिकिर गरे । राज्यविरुद्धको अपराध केवल परिकल्पनाका भरमा लगाइएको उनको भनाइ थियो । उनले घटनाको अनुसन्धान हुँदाका बखत रहेका मन्त्री र प्रहरी अधिकारीको नियतमाथि प्रश्न उठाए ।
‘घटना कतै प्रपञ्च, व्यक्तिगत आकांक्षाको टुल त होइन? जस लिने होडबाजीमा भएको हो कि? त्यस बेला पार्टिमा, सरकारमा को थिए? गलत रूपमा अनुसन्धान र अभियोजन गरी कसुर लगाइएको छ,’ पाण्डेका तर्फबाट सुवालले भने ।
न्यायाधीश खड्काले सुवाललाई भने, ‘देशको स्वाभीमान, स्वाधीनताविरुद्ध गरेकोलाई लगाउने हो । नेपाली नगारिकलाई भुटानी बनाउँदा छविमा आँच पुग्यो होला, छवि धुमिलियो नि ! त्यसैले राज्यविरुद्धको अपराध लगाएको होला नि !’ जवाफमा अधिवक्ता सुवालले अभियोग दाबी अनुसारको अवस्था भने नरहेको बताएका थिए । उनले नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमाझ राम्रो भएका कारण नै अमेरिकाले नेपालका भुटानी शरणार्थीलाई पुनर्स्थापना गराएको र आफ्नो देशमा पनि शान्तिपूर्वक बस्ने भनी लगिएको तर्क गरे ।
साथै, कस्तो अवस्थामा राज्यविरुद्धको अपराधको कसुर लगाउने भन्ने स्पष्ट नभई अभियोजन गरिएको सुवालको भनाइ थियो । ‘विश्वसामु छवि धुमिल गर्यो भन्ने त दाबी हो नि श्रीमान् । लागेको र भएको कुरामा फरक छ नि !’ सुवालले थपे, ‘कसलाई लागेर कसुर हुने हो? छवि त यो आन्दोलन हुँदा भएको आगजनीले पनि भयो होला । नेताको घरमा पैसाको चाङ जलेको देखिँदा उनीहरूले भ्रष्टाचारबाट आर्जन गरेको भनेर पनि छवि बिग्रियो । त्यो पनि राज्यविरुद्धको अपराध थियो होला श्रीमान् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ०८० जेठ १० मा दर्ता भएको मुद्दामा अहिले जिल्ला अदालत काठमाडौंमा सुनुवाइ भइरहेको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणसँग सम्बन्धित थप दुई मुद्दा पनि साथै सुनुवाइ भइरहेका छन् । सोमबार पाण्डेका तर्फबाट सुवालले नै बहस गरे ।
पूर्वगृहमन्त्री, गृहसचिवलगायत उच्च पदस्थहरू प्रतिवादी रहेको यो मुद्दामा गत २८ जेठदेखि सुनुवाइ सुरु भएको हो । सरकारी वकिल र जाहेरवालाहरूको बहसपछि अहिले प्रतिवादीका तर्फबाट बहस सुरु भएको हो । मंगलबारका लागि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।