‘अतीतका बोझ बोक्न सक्दैनौँ’ अभिव्यक्तिको आशय के हो जवाफ चाहियो ? : अर्याल

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)की सांसद पद्मा अर्यालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका अभिव्यक्तिले गम्भीर आशंका र प्रश्नहरू उत्पन्न गरेको बताउँदै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छिन्।

संसदमा बोल्दै अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा आफूहरूले संघर्ष गरेको स्मरण गराउँदै बजेटमाथिको छलफल र पारित गर्ने संवैधानिक जिम्मेवारीलाई ध्यानमा राखेर संघर्षको स्वरूप परिवर्तन गरिएको बताइन्।

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको आरोप लगाउँदै त्यसको विरोध संसदभित्र र बाहिर निरन्तर भइरहेको उल्लेख गरिन्। यसैबिच परराष्ट्रमन्त्रीको भारत भ्रमणप्रति सुरुमा सकारात्मक अपेक्षा रहेको भन्दै उनले भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिएको बताइन्।

तर, भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले ‘अतीतका बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै अर्यालले त्यसप्रति आपत्ति जनाइन्। उनले उक्त अभिव्यक्तिलाई रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्तिको संज्ञा दिँदै यसको अर्थ र आशयबारे सरकारसँग स्पष्टीकरण माग गरिन्।

अर्यालले यता प्रधानमन्त्रीले नेपालले भूमि मिचेकोजस्तो अभिव्यक्ति दिने र उता परराष्ट्रमन्त्रीले समकक्षीसँग इतिहासका बोझ बोक्न नसक्ने कुरा गर्ने अवस्था देखिएको छ’ भन्दै यसले जनस्तरमा आशंका, जिज्ञासा र गम्भीर प्रश्नहरू जन्माएको बताइन्। ‘अतीतका बोझ बोक्न सक्दैनौँ’ भन्नुको अर्थ के हो ? सरकारले यसको स्पष्ट जवाफ दिनुपर्छ,’ उनले भनिन्।

सुझावित समाचार