प्रदेश सरकार गठन भएको सात वर्ष बितिसक्दा पनि आफ्नै स्थायी प्रशासनिक भवन नहुँदा बागमतीका अधिकांश मन्त्रालय साँघुरा सरकारी भवन तथा भाडाका घरबाट सञ्चालन हुँदै आएका छन् । सात वर्षपछि बल्ल सरकारले आफ्नै स्थायी प्रशासनिक भवन निर्माणको काम अघि बढाएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ मा निर्माण हुने एकीकृत प्रशासनिक संरचनाका लागि रुख छपानको काम सुरु गरिएको हो । प्रदेश सरकारले मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवाससमेत एउटै परिसरमा राख्ने गरी प्रशासनिक संरचना निर्माणको तयारी गरेको छ ।
०७६ देखि कानुनी प्रक्रियामा अड्किएको योजना संघीय मन्त्रिपरिषद्को निर्णयपछि कार्यान्वयन चरणमा प्रवेश गरेको हो । प्रदेश सरकारले प्रशासनिक संरचनालाई व्यवस्थित, स्थायी र दीर्घकालीन बनाउने उद्देश्यले परियोजना अघि बढाएको जनाएको छ । प्रदेश सरकारले १ चैत ०८२ को मन्त्रिपरिषद् निर्णयअनुसार ३१.२ हेक्टर राष्ट्रिय वन क्षेत्र भोगाधिकारस्वरूप प्राप्त गरेपछि वन क्षेत्र खाली गर्ने प्रक्रिया अघि बढाएको हो । उक्त क्षेत्रमध्ये २७.५७ हेक्टर घ्याम्पे र चुरेकाली सामुदायिक वन क्षेत्रमा पर्छ भने ३.४५ हेक्टर विद्यालय तथा सार्वजनिक जग्गा छ ।
डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख राकेश चन्द्रवंशीका अनुसार भवन निर्माणका लागि पाँच हजार २२६ रुख तथा पोल हटाउन वन विभागले अनुमति दिइसकेको छ । ‘चार–पाँच दिनभित्र छपानको काम सकिन्छ, त्यसपछि रुख कटान सुरु हुन्छ,’ उनले भने ।
स्थायी प्रशासनिक संरचना नहुँदा सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा समस्या हुँदै आएको थियो । अब निर्माण हुन लागेको एकीकृत संरचनामा मन्त्रालय, सेवा केन्द्र र केही सरकारी निवाससमेत राख्ने योजना बनाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार राष्ट्रिय भवनसंहितामा आएको परिवर्तन र मन्त्रालयहरूको संरचनामा गरिएको पुनर्गठनका आधारमा डिजाइन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयले चालू आर्थिक वर्षभित्रै निर्माणको प्रारम्भिक काम सुरु गर्ने लक्ष्य राखेको जनाएको छ ।
रुख कटानबापत तीन करोड ४१ लाख वन विकास कोषमा जम्मा
बागमती सरकारले हेटौँडामा निर्माण गर्न लागिएको एकीकृत प्रशासनिक भवनको प्रक्रिया अघि बढाउन वन तथा भू–संरक्षण विभागसँग औपचारिक सम्झौता गरेको छ । प्रदेश सरकारले भवन निर्माणका लागि आवश्यक रुख कटान तथा वन क्षेत्र उपयोगको अनुमति पाएसँगै वन विकास कोषमा तीन करोड ४१ लाख रुपैयाँ जम्मा गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले सोमबार संघीय सरकारअन्तर्गतको वन तथा भू–संरक्षण विभागसँग वन क्षेत्र उपयोगसम्बन्धी सम्झौता गरेको हो । सम्झौता यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका प्रमुख इन्जिनियर चन्द्रदेव भट्ट र प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजनाका इन्जिनियर राजन गौतमको रोहवरमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले प्रशासनिक भवन निर्माण क्षेत्रभित्र पर्ने पाँच हजार २२६ वटा रुख कटानबापत नयाँ बिरुवा रोप्न तथा संरक्षण गर्न आवश्यक रकम वन विकास कोषमा जम्मा गरिसकेको छ । मन्त्रालयका अनुसार रुख कटान र वृक्षारोपण व्यवस्थापनका लागि तीन करोड ४१ लाख रुपैयाँ कोषमा राखिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले चालू आर्थिक वर्षभित्रै निर्माण कार्य सुरु गर्ने लक्ष्य रहेको बताए । ‘वन विभागसँगको सम्झौता र आवश्यक शुल्क जम्मा गर्ने काम पूरा भइसकेको छ,’ उनले भने, ‘प्रक्रियागत कामका कारण केही समय लागेको हो । अब रुख कटान र जग्गा व्यवस्थापनसँगै संरचना निर्माणले गति लिन्छ ।’
मरहट्ठाका अनुसार राष्ट्रिय भवनसंहितामा भएको परिवर्तन तथा मन्त्रालयको संख्या घटाइएकाले पुरानो डिजाइनमा केही प्राविधिक परिमार्जनसमेत गरिएको छ । प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिका १६ र १७ मा निर्माण गर्न लागेको एकीकृत प्रशासनिक संरचनामा मन्त्रालय, सेवा केन्द्र तथा केही सरकारी निवाससमेत एउटै परिसरमा राख्ने योजना बनाएको छ । आवश्यकताअनुसार केही छुट्टै भवनसमेत निर्माण गर्ने गरी डिजाइन अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा भन्छन्– वन विभागसँगको सम्झौता र आवश्यक शुल्क जम्मा गर्ने काम पूरा भइसकेको छ । प्रक्रियागत कामका कारण केही समय लागेको हो । अब रुख कटान र जग्गा व्यवस्थापनसँगै संरचना निर्माणले गति लिन्छ ।