भारतको विहार राज्यको राजधानी पटनास्थित ‘खान ग्लोबल स्टडिज’ आक्रमणको आरोपमा फरार रहेका एकजना भारतीय विराटनगरमा मृत अवस्थामा फेला परेका छन्।
विराटनगर– १० मा रहेको होटेल शुभमा साथीहरूसँगै केही दिनदेखि बस्दै आएका बिहारको सहरसा जिल्लाका २४ वर्षीय प्रिन्स यादवको रहस्यमय मृत्यु भएको हो। मोरङ प्रहरीका डिएसपी सन्तोष श्रेष्ठका अनुसार शनिबार राति ११ बजेतिर बिरामी परेपछि यादवलाई उपचारका लागि न्युरो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।
यादवको मृत्युपछि प्रहरीले सँगै बसेका बिहारको सहरसा जिल्लाकै २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
मृतक प्रिन्स यादव बिहारका शिक्षा व्यवसायी तथा ‘ज्ञान बिन्दु एकेडेमी’का सञ्चालक रोशन आनन्दका भाइ हुन्। उनले नै दाजुको एकेडेमीको प्रशासन सञ्चालन गर्दै आएका थिए।
खान सर उपनामले चिनिँदै आएका फैजल खान पटनामा रहेको खान ग्लोबल स्टडिजका सञ्चालक हुन्। व्यावसायिक शत्रुताका कारण उनको कोचिङ सेन्टरमा केही दिनअघि आक्रमण र तोडफोड भएको थियो। विहार प्रहरीले घटनामा संलग्न केहीलाई पक्राउ गरेको थियो भने प्रिन्स यादवसहितका केही व्यक्ति फरार थिए।