जिल्ला अस्पताल उदयपुरमा डाक्टर छन्, सेवा छैन

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण
  • अक्सिजनदेखि ल्याब सेवासम्म ठप्प, महिनौँदेखि भत्ता नपाएपछि आन्दोलनमा चिकित्सक ५० शय्याको अस्पतालका वार्ड रित्तै

एक वर्षअघि कोशी प्रदेशका जिल्ला अस्पतालहरूमध्ये उत्कृष्ट अस्पताल घोषित प्रादेशिक जिल्ला अस्पताल उदयपुर यतिवेला गम्भीर संकटमा फसेको छ । अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव छैन, भवन र संरचना पनि छन्, तर आधारभूत सामग्री, उपकरण र प्रशासनिक व्यवस्थापनको अभावले स्वास्थ्य सेवा नै प्रभावित बनेको हो।

शनिबार आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरूले ‘अस्पतालमा डाक्टर छन्, तर सेवा छैन’ भन्नुपर्ने अवस्था आएको गुनासो गरेका थिए । जिल्ला सदरमुकाम गाईघाटस्थित अस्पतालले हाल स्त्री तथा प्रसूति रोग, नवजात तथा बालरोग, हाडजोर्नी तथा नसा रोग, दन्तरोग लगायतका विशेषज्ञ सेवा, विभिन्न सर्जरी वा अप्रेसन सेवासमेत छ । तर, पछिल्ला केही महिनादेखि प्रशासनिक अव्यवस्था, आर्थिक संकट र आन्तरिक विवादका कारण अस्पतालको सेवाप्रवाह नै हाल बन्द हुने अवस्थामा छ । 

शनिबार अस्पतालकै सभाहलमा पत्रकार सम्मेलनमार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पतालको वास्तविक अवस्था सार्वजनिक गर्दै आन्दोलनको चेतावनी दिएका छन् । उनीहरूले अस्पतालमा देखिएका समस्या समाधानका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएकाले आन्दोलनको तयारी गरेका हुन् । डा. कृष्णकुमार यादवले अस्पताल सञ्चालनका लागि अत्यावश्यक सामग्रीसमेत अभाव भएको बताए । ‘सामान्य रूपमा पनि अस्पतालमा फिल्टर, साबुन, सर्फ, गज, पन्जा, कुचोलगायतका दैनिक आवश्यक सामग्रीसमेत उपलब्ध छैनन् । अरू सेवाको कुरै नगरौँ,’ उनले भने ।

सबैभन्दा चिन्ताजनक अवस्था अक्सिजन आपूर्तिको रहेको चिकित्सकहरूको भनाइ छ । अस्पतालमा केही सातादेखि अक्सिजन सकिएको र अक्सिजन आवश्यक पर्ने बिरामीको उपचारमा समेत कठिनाइ भइरहेको छ । ‘अस्पतालमा अक्सिजनजस्तो आधारभूत सेवा नै उपलब्ध छैन भने बिरामीको उपचार कसरी गर्ने ?’ यादवले भने ।

विभिन्न रोगको परीक्षण गर्ने ल्यव (प्रयोगशाला) सेवा पनि बन्द छ । सामान्य दिसापिसाब परीक्षण तथा ‘कम्प्लिट ब्लड काउन्ट’ (सिबिसी)जस्ता आधारभूत परीक्षणसमेत नियमित रूपमा हुन नसक्दा बिरामीहरू निजी प्रयोगशालामा धाउन बाध्य भएको चिकित्सकहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । एक्स–रे सेवा बन्द छ । अस्पतालमा दुईवटा एक्स–रे प्रिन्टर हुँदाहुँदै थप नयाँ प्रिन्टर खरिदले समस्या भएको चिकित्सकहरूको भनाइ छ । 

कोशी प्रदेश सरकारमातहत रहेको उदयपुर जिल्ला अस्पतालमा हेमोडायलाइसिस सेवा पनि संकटमा परेको छ । उदयपुरसहित छिमेकी जिल्लाका सयौँ मिर्गौला रोगीले लाभ लिइरहेको उक्त सेवा सञ्चालनका लागि आवश्यक व्यवस्थापन हुन नसक्दा सेवा प्रभावित भएको विज्ञप्तिमा जनाइएको छ ।

स्वास्थ्यकर्मीहरूले अस्पतालको लेखा तथा प्रशासनिक संयन्त्रलाई समस्याको मुख्य कारणका रूपमा औँल्याएका छन् । अस्पताल विकास तथा व्यवस्थापन समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने, कार्यालय प्रमुखका निर्देशनसमेत बेवास्ता गर्ने तथा अस्पताल सञ्चालनसँग सम्बन्धित काममा अनावश्यक अवरोध सिर्जना गर्ने प्रवृत्तिका कारण संकट गहिरिएका चिकित्सकहरूको भनाइ छ ।

विशेषज्ञ चिकित्सकहरूले ६ महिनादेखि प्रोत्साहन भत्ता र अन्य भत्ता नपाएको बताएका छन् । मेडिकल अधिकृतहरूले चार महिनादेखि अतिरिक्त भत्ता प्राप्त गरेका छैनन् भने चालू आर्थिक वर्षको खाजा भत्तासमेत वितरण हुन सकेको छैन । ज्यालादारी स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले पोसाक भत्ता नपाएको गुनासो गरेका छन् ।

चिकित्सकहरूले अस्पतालको आर्थिक पारदर्शितामाथि समेत प्रश्न उठाएका छन् । अस्पतालसँग आवश्यक औषधि, उपकरण तथा उपचार सामग्री खरिदका लागि बजेट अभाव रहेको बताइए पनि आय–व्यय विवरण सार्वजनिक नगरिएको उनीहरूको आरोप छ । विभिन्न शीर्षकमा प्राप्त बजेट समयमै खर्च हुन नसक्दा अस्पताल सञ्चालनमै असर पुगेको दाबी गरिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मुकेश झाले स्वास्थ्यकर्मीहरूको माग जायज रहेको बताए । अस्पतालमा पर्याप्त चिकित्सक रहे पनि आवश्यक सामग्री र व्यवस्थापन अभावका कारण सेवा दिन नसकिएको उनले बताए । ‘हामीसँग सेवा दिने जनशक्ति छ । विशेषज्ञ चिकित्सक छन् । तर, अस्पतालभित्रका समस्याले सेवा दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘अहिले ५० शङ्ढयाभन्दा बढी क्षमताको अस्पतालका अधिकांश वार्ड खाली छन् । ल्याब सेवा लगभग बन्द छ । सामान्य उपकरण अभावमा समेत सेवा दिन सकिएको छैन ।’

हाडजोर्नी विशेषज्ञ डा. रूपेश केसीले पनि सरकारी अस्पतालको कमजोरी चिकित्सकमाथि थोपर्ने गरिए पनि अहिलेको अवस्था चिकित्सकका कारण नभई व्यवस्थापनको असफलताले सिर्जना भएको बताए ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माले अस्पताल प्रशासन, लेखा शाखा र चिकित्सकबिचको समन्वय अभावले समस्या जटिल बनेको बताए । उनले भने, ‘विवाद समाधानका लागि पहल गरिरहेको छु ।’ एक वर्षअघि कोशी प्रदेशको उत्कृष्ट अस्पतालको रूपमा स्थापित उदयपुर अस्पताल अहिले चिकित्सक, प्रशासन र व्यवस्थापनबीचको द्वन्द्व, आर्थिक अव्यवस्था तथा सामग्री अभावको मारमा परेको छ । समयमै समस्या समाधान हुन नसके आन्दोलनका कारण आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द हुने जोखिम बढेको छ । 

सुझावित समाचार