काभ्रेको नमोबुद्ध नगरपालिका– २, बुचाकोटमा भएको बस दुर्घटना ‘टाई रोड’ (स्टेरिङले टायरलाई नियन्त्रण गर्ने मेकानिकल सिस्टम) खुस्किएर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । नमोबुद्ध नगरपालिका– २, बुचाकोटस्थित सडकमा शुक्रबार बा.३ख ८३९८ नम्बरको बस दुर्घटना हुँदा आठको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बस अचानक नियन्त्रण गुमाएर सडकबाट तीन सय मिटर तल खसेको थियो । जिप्रका काभ्रेका प्रवक्ता डिएसपी रविन विष्टले ‘टाई रोड’ खुस्किएपछि बसले नियन्त्रण गुमाएको र त्यसपछि दुर्घटनाग्रस्त भएको बताए । ‘काभ्रेमा शुक्रबार भएको दुर्घटनाबारे चालकसँग सोधपुछ गर्दा टाई रोड खुस्किएपछि बसले नियन्त्रण गुमाएको र सोही कारण दुर्घटना भएको भनेको छ । यद्यपि, घटनाको छानबिन गर्न समिति गठन भएको छ, थप कारण त्यसपछि खुल्ला,’ उनले भने ।
प्रहरीका अनुसार बसमा सवारमध्ये ७३ वर्षीय मेघबहादुर तामाङ, ३४ वर्षीया फूलमाया तामाङ, ७५ वर्षीय इन्द्रबहादुर तामाङ, ६० वर्षीया प्यारीमाया तामाङ, ३० वर्षीय बमबहादुर भण्डारी, २२ वर्षीया सुमी तामाङ, ५५ वर्षीय राजु तामाङ र ६० वर्षीया माया तामाङको मृत्यु भएको छ । २२ वर्षीया एनिसा तामाङ, २० वर्षीया विष्णुडोल्मो तामाङ, ६० वर्षीय धनबहादुर तामाङ, ३० वर्षीय चन्द्र तामाङ, १८ वर्षीया रमिता वाइबा, ४० वर्षीय मनबहादुर तामाङ र ६० वर्षीय डम्बरबहादुर शाह घाइते भएका छन् । घाइते हुने अन्यमा ४३ वर्षीय कृष्णबहादुर तामाङ, २५ वर्षीय सुरेशबहादुर वादी, ३४ वर्षीय घोयासिंह तामाङ, ६२ वर्षीया विष्णुमाया लामा, ४३ वर्षीय मनुराज तामाङ, चार वर्षीय सुवास तामाङ, ७७ वर्षीय सार्कीमान लामा, २२ वर्षीया बिबीमाया तामाङ र १८ महिनाका उग्रेन लामा छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको र सबै खतरामुक्त रहेको जिप्रका काभ्रेका प्रवक्ता डिएसपी विष्टले बताए ।
घटनाको छानबिन गर्न प्रहरीले एसएसपी कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार गठन भएको समितिलाई अबको सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । एसएसपी थापा प्रहरी प्रदेश कार्यालय काभ्रेमा कार्यरत छन् ।