परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ देखि असार ३ गते (जुन १४–१७, २०२६) सम्म चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य एवं विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा २ असारमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। सो वार्तामा नेपाल–चीन सम्बन्धलाई थप बलियो बनाउने तथा दुई देशबिचको सहकार्यलाई अझ सघन ढंगले अघि बढाउनेलगायतका द्विपक्षीय हितका विविध पक्षमा छलफल हुने मन्त्रालयले जनाएको छ। बेइजिङमा रहँदा उनले चीनका अन्य उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमणकै क्रममा मन्त्री खनालले नेपालमा चिनियाँ लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्न लागेको ‘लगानी सम्मेलन’मा सहभागिता जनाउनेछन्। सो क्रममा उनले चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग अन्तरक्रियासमेत गर्नेछन्।
साथै, नेपाली राजदूतावासले मन्त्री खनालको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी भई उनले त्यहाँ रहेका नेपाली समुदायसँग पनि साक्षात्कार गर्ने कार्यतालिका छ। परराष्ट्रमन्त्री खनाल असार ३ गते (जुन १७) स्वदेश फर्कनेछन्।