वीर अस्पतालमा कार्यरत चार सय आवासीय चिकित्सक आन्दोलित बनेका छन् । तोकेअनुसारको निर्वाह भत्ता नपाएको भन्दै बुधबार अस्पतालपरिसरमा चिकित्सकहरूले कालोपट्टी बाँधेर आन्दोलन गरे । ७२ घण्टाभित्र भत्ता नआए थप आन्दोलनका कार्यक्रम अघि सार्ने तयारी उनीहरूले गरेका छन् ।
चिकित्सकहरूका मागमा ऐक्यबद्ध हुँदै रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । र्यानले ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनीसमेत दिएको छ । यसअघि १४ माघ ०८१ मा आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रालयबिच भएको सहमतिअनुसार आवासीय चिकित्सकले हरेक महिनाको ७ गतेभित्र भत्ता पाउनुपर्छ । त्यतिवेला आवासीय चिकित्सकको तलब ४८ हजार रुपैयाँ तोकिएको थियो । उक्त निर्वाह भत्ताको रकम चिकित्सा शिक्षा आयोगले वीर अस्पतालको खातामा पठाउँछ, त्यसपछि अस्पतालले चिकित्सकलाई दिन्छ । तर, पछिल्लो समय दुई महिनासम्म उनीहरूलाई निर्वाह भत्ता दिइएको छैन ।
चिकित्सकहरूले आफूहरूको निर्वाह भत्ता रोकिएको भन्दै यथाशक्य छिटो उपलब्ध गराउन अस्पताल प्रशासनसँग माग गरेका छन् । ‘अस्पताल प्रशासनले हाम्रो निर्वाह भत्ता रोकेको छ, हामीले उक्त सुविधा समयमै पाउनुपर्ने नियम नै हो, तर अस्पतालले दिएन,’ र्यानका अध्यक्ष डा. प्रकाश खरेलले भने, ‘यसबारे चिकित्सा शिक्षा आयोग र अस्पताल प्रशासनबिच पटक–पटक छलफल भएको थियो, तर अस्पताल प्रशासनले आनाकानी गरिरहेको छ, हाम्रो सुविधाबारे प्रशासन बोल्दैन ।’ उनले ७२ घण्टाभित्र माग सम्बोधन नगरिए उपचार सेवा ठप्प पार्ने बताए ।
वीर अस्पतालका सहायक निर्देशक तथा सूचना अधिकारी डा. प्रकाश बुढाथोकीले चिकित्सा शिक्षा आयोगबाट रकम नआएकाले रोकिएको बताए । ‘वीरमा सात–आठथरीका कर्मचारी छन्, त्यसमध्ये एक प्रकारका कर्मचारी तथा चिकित्सक रेजिडेन्ड हुन्, उनीहरूका लागि चिकित्सा शिक्षा आयोगबाट रकम आउँथ्यो, तर पछिल्लो दुई महिनादेखि रोकिएको छ, आयोगबाट दुई महिनायता रकम आएको छैन,’ उनले भने, ‘मन्त्रालयबाट पनि पुल दरबन्दी र छात्रवृत्तिको चिकित्सकका लागि भत्ता आएको छैन, हामीले फोन र पत्रबाट ताकेता गरिरहेका छौँ, अस्पतालको खातामा पैसा आउनासाथ डाक्टरहरूको खातामा पठाउँछौँ ।’