संघीय सरकारबाट प्राप्त हुने अन्तरसरकारी वित्तीय हस्तान्तरणको रकम उदयपुरका अधिकांश स्थानीय तहमा घटेको छ। आगामी आर्थिक वर्ष ०८३/८४ का लागि विनियोजित बजेटअनुसार आठ स्थानीय तहमध्ये पाँच पालिकाको बजेट कटौती भएको छ भने तीन पालिकाको मात्र बजेट बढेको छ ।
सबैभन्दा बढी असर त्रियुगा नगरपालिकामा परेको छ। चालू आर्थिक वर्ष ०८२/८३ को तुलनामा त्रियुगाको बजेट २२ करोड ९० लाख रुपैयाँले घटेको छ । दुई वर्षको अवधिमा हेर्दा नगरपालिकाले पाउने संघीय अनुदान ६१ करोड २१ लाख रुपैयाँले खुम्चिएको छ ।
आर्थिक वर्ष ०८१/८२ मा त्रियुगाले एक अर्ब ४७ करोड दुई लाख रुपैयाँ पाएको थियो । उक्त रकम चालू आवमा एक अर्ब आठ करोड ७१ लाखमा झरेको थियो भने आगामी आवमा चालूतर्फ ७७ करोड ९५ लाख र पुँजीगततर्फ सात करोड ८६ लाख गरी ८५ करोड ८१ लाख पाउने भएको छ । चालू आवको तुलनामा २२ करोड ९० लाखले घटेको हो ।
जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाले आगामी आर्थिक वर्षमा कुल तीन अर्ब ९३ करोड ९४ लाख रुपैयाँ संघीय बजेट प्राप्त गर्ने भएका छन् । यो रकम चालू आवको तुलनामा २८ करोड २८ लाख रुपैयाँ कम हो । समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानअन्तर्गत सरकारले पालिकाहरूलाई उक्त रकम उपलब्ध गराउनेछ ।
आगामी आवमा उदयपुरका चार नगरपालिका र चार गाउँपालिकाले कुल तीन अर्ब ९३ करोड ९४ लाख रुपैयाँ बजेट पाएका छन् । नगरपालिकातर्फ दुई अर्ब ५२ करोड ८४ लाख र गाउँपालिकातर्फ एक अर्ब ४१ करोड १० लाख रुपैयाँ विनियोजन भएको छ । उदयपुरमा चालूतर्फ तीन अर्ब ५९ करोड ९० लाख र पुँजीगततर्फ ३४ करोड चार लाख रुपैयाँ छुट्याइएको छ । चालू आवको तुलनामा आगामी आवमा २८ करोड २८ लाखले बजेट घटेको हो । कटारी, चौदण्डीगढी नगरपालिका र लिम्चुङबुङ गाउँपालिकाको बजेट बढेको छ भने त्रियुगासहित पाँच पालिकाको बजेट घटेको हो । सबैभन्दा बढी त्रियुगाको बजेट २२ करोड ९० लाखले घटेको छ ।
कटारी नगरपालिकाका लागि संघीय सरकारले चालूतर्फ ५५ करोड ५८ लाख र पुँजीगततर्फ पाँच करोड ७२ लाख गरी कुल ६१ करोड ३० लाख रुपैयाँ बजेट छुट्याएको छ । यो चालू आवको तुलनामा चार करोड ५० लाख बढी हो । चौदण्डीगढी नगरपालिकाले चालूतर्फ ५० करोड ६० लाख र पुँजीगततर्फ ६ करोड ४० लाख गरी ५७ करोड रुपैयाँ बजेट पाउनेछ । यो चालू आवको तुलनामा ६ करोड १७ लाख बढी हो ।
बेलका नगरपालिकाले चालूतर्फ ४५ करोड ६४ लाख र पुँजीगततर्फ तीन करोड नाै लाख गरी ४८ करोड ७३ लाख रुपैयाँ पाउनेछ । यो चालू आवको तुलनामा दुई करोड १० लाख कम हो । उदयपुरगढी गाउँपालिकाले चालूतर्फ ४१ करोड ५९ लाख र पुँजीगततर्फ दुई करोड ३३ लाख गरी ४३ करोड ९२ लाख रुपैयाँ पाउने भएको छ । यो चालू आवको तुलनामा चार करोड ९६ लाख कम हो ।
ताप्ली गाउँपालिकाले चालूतर्फ २६ करोड ५१ लाख र पुँजीगततर्फ एक करोड १८ लाख गरी २७ करोड ६९ लाख रुपैयाँ पाउनेछ । यो चालू आवको तुलनामा एक करोड ९४ लाख कम हो । रौतामाई गाउँपालिकाले चालूतर्फ ३८ करोड ६९ लाख र पुँजीगततर्फ चार करोड ४६ लाख गरी ४३ करोड १५ लाख रुपैयाँ पाउनेछ । यो चालू आवको तुलनामा पाँच करोड १४ लाख कम हो। लिम्चुङबुङ गाउँपालिकाले कुल २६ करोड ३४ लाख रुपैयाँ बजेट पाउनेछ। जसमध्ये चालूतर्फ २३ करोड ३४ लाख र पुँजीगततर्फ तीन करोड रुपैयाँ रहेको छ । यो चालू आवको तुलनामा दुई करोड ३७ लाख बढी हो ।
स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारले पठाउने समानीकरण, ससर्त, विशेष तथा समपूरक अनुदानमा आएको कटौतीले विकास आयोजना र सेवा प्रवाहमा असर पर्ने बताएका छन् ।