अन्धकारमा बजेट चलाउनु भ्रष्टाचारलाई निम्तो दिनु हो : सांसद कार्की

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

सांसद प्रकाशसिंह कार्कीले अन्धकारमा बजेट चलाउनु भ्रष्टाचारलाई निम्तो दिनु  हुने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विनियोजित बजेटमाथि छलफल कार्यक्रममा सहभागी हुने क्रममा उनले बजेटमा चुहावट रोक्नुपर्ने र ऋणको भरमा बजेट बनाउने संस्कार अन्त्य गर्नुपर्ने धारणा राखे। 

सांसद कार्कीले कर नीति, बजेट प्रणाली, ऊर्जा, शिक्षा र कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा सरकारलाई सुझाव तथा आलोचना प्रस्तुत गरेका छन्। उनले राजस्व बढाउने नाममा नयाँ–नयाँ कर लगाउने प्रवृत्ति उचित नभएको भन्दै करको दायरा बढाउनुपर्ने, तर करको भार बढाउनु नहुनेमा जोड दिएका छन्। राजस्व विस्तारको नाममा कर बढाउने सोच दीर्घकालीन रूपमा सही  नभएको उनको ठहर छ । 

उनले उद्योग सञ्चालनका लागि सस्तो बिजुली उपलब्ध गराउन, किसानलाई सिँचाइका लागि बिजुली निःशुल्क गर्न र उत्पादन भएको बिजुली जनताको घर–घरमा पुर्याउन जोड दिएका छन्। उनले शिक्षामा लगाइएको कर देशको भविष्यमा लगाइएको करसरह हुने भन्दै तत्काल कर हटाउन आग्रह गरेका छन्। साथै, बिजुली र शिक्षालाई करमुक्त गर्न उनले माग गरे। 

अनुदान प्रणालीबारे टिप्पणी गर्दै उनले दुई करोड रुपैयाँ लगानी गरेपछि ४० प्रतिशत अनुदान दिने व्यवस्था भए पनि त्यति ठुलो लगानी गर्ने किसान कम हुने भएकाले नीतिमा पुनरावलोकन आवश्यक रहेको बताए। उनले विदेशबाट फर्किएका युवालाई विनाधितो कर्जा उपलब्ध गराउनुपर्ने सुझाव दिए । 

करनीति पुनरवलोकन, बजेट पारदर्शिता, ऊर्जा पहुँच विस्तार, शिक्षा कर हटाउने र कृषि तथा युवालक्षित सहुलियत कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्।

सुझावित समाचार