डिएभीले दोस्रोपटक जित्यो जयकुमारनाथ शाह स्मृति क्रिकेटको उपाधि

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

सुशील केडिया विश्व भारती स्कुल (डिएभी)ले लगातार दोस्रोपटक एसियन इ–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ इन्टरस्कुल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न वर्षाले प्रभावित फाइनल खेलमा डिएभीले नेपाल पुलिस स्कुललाई डिएलएस पद्धतिमा ७ विकेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो।

उपाधिसँगै डिएभीले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता नेपाल पुलिस स्कुलले ७५ हजार रुपैयाँमा चित्त बुझायो। डिएभीले दोस्रो संस्करणको पनि उपाधि जितेको थियो।

मंगलबार पुलिस स्कुलले दिएको १०२ रनको लक्ष्य पछ्याएको डिएभीले ४.१ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको थियो। त्यसपछि बुधबार खेललाई १२ ओभरमा झार्दै डिएलएस विधिअनुसार डिएभीलाई ७० रनको लक्ष्य दिइएको थियो। डिएभीले १०.५ ओभरमा ३ विकेट गुमाएर उक्त लक्ष्य पूरा गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्न सफल भयो।

डिएभीको जितमा आरुष झाले ३० बलमा ३ चौकासहित अविजित २६ रन बनाए। विराज जैसवालले २३ बलमा २२ रन जोडे भने प्रसिद्ध जैशीले ६ रन बनाए। सत्यम बस्नेत २ रनमा आउट हुँदा कमल शाही ३ रनमा अविजित रहे। कमल शाही ‘पिक पोइन्ट प्लेयर अफ द म्याच’ घोषित भए।

पुलिस स्कुलका प्रियान्शुकिशोर राउत र सुनील ठाकुरले समान १–१ विकेट लिए।

त्यसअघि मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो। पुलिसका मोहम्मद अब्बास साफीले अविजित ३३ रन बनाए भने श्याम बाबु ठाकुरले १२ र आशुतोष मिश्रले १० रनको योगदान दिए।

डिएभीका कमल शाहीले ४ ओभरमा मात्र ११ रन खर्चेर ४ विकेट लिए। कुञ्जन आचार्य र प्रसिद्ध जैशीले समान २–२ विकेट हात पारे। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा जेठ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टोलीको सहभागिता थियो।

प्रतियोगिताको उदयीमान खेलाडी जेम्स स्कुलका स्वराज चौलागाईं घोषित भए। उनले प्रतियोगिताभर १०३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए। उनले नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट विशेष उपहार प्राप्त गरे।

सैनिक आवासीय महाविद्यालयका राजदीप आचार्य उत्कृष्ट ब्याटर घोषित भए। उनले ४ खेलमा २३९ रन बनाएका थिए। नगद ५ हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट ब्याट तथा ‘डार्क फेन्टासी’को तर्फबाट विशेष उपहार प्राप्त गरे।

डिएभीका कुञ्जन आचार्य १३ विकेटसहित उत्कृष्ट बलर घोषित भए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डिएभीका प्रसिद्ध जैशी घोषित भए। उनले प्रतियोगिताभर २७३ रन बनाउनुका साथै ७ विकेट लिँदै टोलीलाई उपाधिसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले। उनले नगद १० हजार रुपैयाँसहित ‘लकर रुम’को तर्फबाट क्रिकेट किट ब्याग प्राप्त गरे। विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि आकर्षक उपहार प्रदान गरिएको थियो।

सुझावित समाचार