प्रधानमन्त्रीलाई संसद् नचाहिए पनि प्रतिपक्षीलाई चाहिन्छ : सांसद आङ्देम्बे

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद् नचाहिए पनि प्रतिपक्षलाई चाहिने भएकाले अब संसद् अवरुद्ध गर्न नहुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङ्देम्बेले प्रधानमन्त्रीको उपस्थितिभन्दा देशका समस्या र जनताका प्रश्नहरू बढी महत्त्वपूर्ण रहेको  भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा अब संसद् अलमलिनु नहुने तर्क गरे । 

प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको दाबी गर्दै सत्तापक्षका सांसदले जति रफ्फु लगाउन खोजे पनि यथार्थ नलुक्ने उल्लेख गरे । 

उनले देशका महत्त्वपूर्ण राष्ट्रिय मुद्दामा सत्तापक्षबाट पर्याप्त प्रश्न उठ्न नसकेको टिप्पणी गरे। नेपाल–भारत सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिले गलत सन्देश प्रवाह गरेको बताए।

आङ्देम्बेले उक्त अभिव्यक्ति सच्याउने वा स्पष्ट पार्ने प्रयास भए पनि जनताले सुनेको र बुझेको विषय यही रहेको दाबी गरे। प्रतिपक्षलाई संसद् सञ्चालन र जनताका सवाल उठाउन अवसर आवश्यक रहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने बताए।

सुझावित समाचार