रास्वपा बागमती अधिवेशन : पाँच मत खसेपछि मतदान स्थगित

मतदाता नामावली विवादले निर्वाचन प्रक्रिया अवरुद्ध

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनअन्तर्गत सुरु भएको निर्वाचन प्रक्रिया मतदान सुरु भएको करिब आधा घण्टामै विवादमा तानिएको छ । राति अबेर सुरु भएको मतदान पाँचजनाले मत खसालेपछि स्थगित गरिएको छ भने बुधबार बिहानसम्म पनि निर्वाचन प्रक्रिया पुनः सुरु हुन सकेको छैन ।

हेटौँडा– १ स्थित हिमालयन दरबारमा जारी अधिवेशनअन्तर्गत मंगलबार राति करिब १:३० बजे मतदान सुरु गरिएको थियो । निर्वाचन समितिले यसअघि मतदाताको अन्तिम नामावली प्रकाशन गरी सभापति र प्रदेश सदस्य पदका लागि मतदान प्रक्रिया अघि बढाएको थियो । तर, मतदान सुरु भएको केही समयमै मतदाता नामावली र उम्मेदवारको विवरणसम्बन्धी विषयमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित गर्नुपरेको हो ।

निर्वाचन समितिका अनुसार मतदान सुरु भएपछि करिब पाँचजनाले मात्रै मत खसालेका थिए । त्यसपछि प्रतिनिधिहरूले मतदाता नामावली र उम्मेदवारको सूचीसम्बन्धी विषय उठाउँदै आपत्ति जनाएपछि प्रक्रिया रोकिएको हो ।

अधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार भक्तपुर जिल्लासम्बन्धी मतदाता नामावली तथा उम्मेदवारहरूको विवरण स्पष्ट रूपमा सार्वजनिक नगरिएको विषयलाई लिएर विवाद सुरु भएको हाे । निर्वाचन क्षेत्र र क्लस्टरअनुसार उम्मेदवारहरूको नामावलीमा त्रुटि रहेको दाबी गर्दै केही प्रतिनिधिहरूले निर्वाचन समितिको ध्यानाकर्षण गराएका थिए ।

विवाद चर्किएसँगै अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो । आक्रोशित कार्यकर्ता तथा प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै होहल्ला गरेका थिए । केही मतपत्र च्यातिएको आरोपसमेत सहभागीहरूले लगाएका छन् ।

स्थिति तनावपूर्ण बनेपछि निर्वाचन समितिले बुधबार बिहान ८ बजेसम्मका लागि मतदान कार्यक्रम स्थगित गरेको घोषणा गरेको थियो । त्यसपछि समितिका पदाधिकारीहरू अधिवेशनस्थलबाट बाहिरिएका थिए ।

तर, बुधबार बिहानसम्म पनि निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुन नसकेको सहभागीहरूले बताएका छन् । अधिवेशनस्थलमा आयोजक समिति तथा निर्वाचन समितिका अधिकांश पदाधिकारी अनुपस्थित रहेको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

अधिवेशनमा सहभागी केही प्रतिनिधिहरूले व्यवस्थापन पक्षको कमजोरीका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको आरोप लगाएका छन् । उनीहरूले निर्वाचनसम्बन्धी तयारी पर्याप्त नहुँदा रातभर अधिवेशनस्थलमै बस्नुपरेको गुनासो गरेका छन् ।

अधिवेशनबाट ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिने

रास्वपाको बागमती प्रदेश अधिवेशनबाट ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गरिनेछ । सभापति पदका लागि चारजना उम्मेदवार चुनावी मैदानमा छन् भने सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका छन् ।

सभापति पदमा नुवाकोटका डा. अच्युतम लामिछाने, मकवानपुरका उत्सव अर्याल, धादिङका कृष्णमान श्रेष्ठ र रामेछापका हरिबहादुर (एचबी) खत्री प्रतिस्पर्धामा छन् । प्रारम्भिक रूपमा पाँचजनाले उम्मेदवारी दर्ता गराए पनि काभ्रेका प्रतिनिधिसभा सदस्य बदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चारजनाबिच प्रतिस्पर्धा हुने भएको हो ।

निर्वाचन प्रक्रिया अवरुद्ध भएपछि अधिवेशनको कार्यतालिका प्रभावित बनेको छ । विवाद समाधान गरी मतदान पुनः सञ्चालन गर्ने विषयमा पार्टी नेतृत्व, आयोजक समिति र निर्वाचन समितिबिच छलफल जारी छ ।

रास्वपाले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमतीबाट गरेको हो । प्रदेशका १३ जिल्लाबाट सहभागी प्रतिनिधिहरू नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित हेटौँडामा भेला भएका छन् ।

सुझावित समाचार