बाँदरआतंकको पहरा : हातमा गुलेली, साथमा भोटेकुकुर

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

वैशाख महिनाको टन्टलापुर घाम, जस्ताले छाएको सानो छाप्रो, हातमा गुलेली (मट्यांग्रा), नजिकै कालो भोटेकुकुर, नजर भने मकैबारीतिर । यो दृश्य कुनै चलचित्रको होइन ।बागलुङको जैमिनी नगरपालिका– १, कुश्मिसेरा सिरुबारीका ७९ वर्षीय लक्ष्मीदत्त पाध्याको दैनिकी हो । 

हरेक बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म उनको एउटै जिम्मेवारी बनेको छ– बाँदर धपाउने । बाँदरको आतंकले खेतबारीमा लगाएको मकै जोगाउन उनी चार वर्षदेखि नियमित रूपमा यस्तै ‘डियुटी’मा खटिँदै आएका छन् । ‘बाँदर आयो भने म एक्लैले धपाएर सक्दिनँ, कुकुरको सहारा लिनुपर्छ,’ उनी भन्छन्, ‘कतिपटक त कुकुरलाई पनि टेर्दैनन् ।’

सिरुबारीको गैराबारी खेतमा उनको करिब सात मुरी मकै फल्ने जमिन छ । वरपरका छिमेकीका खेतबारीमा पनि राम्रो उत्पादन हुन्छ । उनको खेत अलि छेउमा परेको हुँदा बाँदरआतंकबाट मकै जोगाउन लक्ष्मीदत्त नै अग्रसर हुनुपर्दछ । पछिल्ला चार–पाँच वर्षदेखि बाँदरको बथानले खेतमा पाक्न लागेको अन्नबाली सखाप पार्न थालेपछि लक्ष्मीदत्त मात्र हाेइन यहाँका अन्य किसानलाई पनि हैरानी भएको छ । 

लक्ष्मीदत्तका अनुसार बाँदरले मकै मात्र होइन, अन्य बाली पनि नष्ट गर्ने गरेका छन् । ‘मिहिनेत गरेर लगाएको बाली र फलफूल आँखाअगाडि नष्ट हुँदा मन रुन्छ,’ उनी भन्छन् । मकै उम्रिएपछि नै बाँदरले लुछ्न थाल्छ अनि पहरा लगाउनु नै पर्यो, एकछिन छाड्ने हो भने सवै विध्वंस बनाउँछ । ‘कुन दिशाबाट आउँछ पत्तो नै हुँदैन, हामीलाई त हैरानी बनाएको छ,’ लक्ष्मीदत्तले  भने ।

उनका अनुसार बाँदरले बिहान सबेरैदेखि साँझसम्म खेतबारीमा पुगेर दुःख दिन्छन् । त्यसैले श्रीमान्–श्रीमतीले खाना खाने समयसमेत पालो मिलाउनुपर्छ । एकजना खेत हेर्न बस्दा अर्कोले खाना खान्छ । ‘खाना खाने वेला पनि ढुक्क छैन,’ उनी भन्छन्, ‘कुकुरले संकेत गर्छ, बाँदर आयो भनेर । ठुलो बथान आयो भने एक्लै धपाउन पनि सकिँदैन, बाँदरकै कारण कुकुर पाल्नुपरेको छ ।’ उनले एउटा गाईको बाच्छालाई भन्दा बढी अन्नपानी दिएर कुकुर पाल्नुपरेको सुनाए ।

 केही वर्ष पहिले नजिकैको भडार गाउँबाट सिरुबारी सरेका लक्ष्मीदत्तको परिवारमा अहिले श्रीमान्–श्रीमती र जेठो छोरा मात्र गाउँमा छन् । अन्य छोराहरू परिवारसहित बसाइँसराइ गरेर अन्यत्र गइसकेका छन्। गाउँका धेरै घर पनि यस्तै गरी रित्तिएका छन् ।  उनी भने गाउँ छोड्ने पक्षमा छैनन् । ‘जति दुःख भए पनि जन्मेको गाउँ छोड्दिनँ,’ उनी भन्छन् । तर, बाँदरका कारण धेरै जमिन बाँझो राख्नुपर्ने अवस्था आएको उनेको गुनासो रहेको छ । 

‘वन र बाँदर बढे, किसान घटे’
पछिल्ला समयमा गाउँघरवरिपरि खेतबारीमा समेत रुखहरू भरिँदै जाँदा बाँदरआतंक झनै बढ्दै गएको स्थानीयको भनाइ छ ।  यस क्षेत्रमा बढ्दो बसाइँसराइको प्रभावसमेत रहेको हुँदा खेतीयोग्य जमिन बाँझो हुँदै गएको र रुख बुट्यानहरू बढ्दै गएका कारण बाँदरले झन् खुला अवसर पाएका छन् । 

सिरुबारी र आसपासका क्षेत्रमा बाँदरआतंक अहिले किसानका लागि सबैभन्दा ठुलो समस्या बनेको छ । कतिपयले खेती गर्नै छोडेका छन् भने कतिपय उत्पादन हुने आशा नगरी पनि बाध्यतावश खेती गरिरहेका छन् ।

बाँदर बगैँचा बनाउने तयारीमा जैमिनी
जैमिनी नगरपालिकाका सबै वडामा बाँदरआतंकले हैरानै बनाएको छ । स्थानीय तहका जनप्रतिनिधि होस् वा अन्य सबैका मुद्दा नै बाँदरआतंक कम गर्ने बन्छन्, तर केही नीति तथा कानुनी अप्ठ्याराले भने यो सहज नभएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा बताउँछन् । जैमिनी नगरपालिकाले चार वर्ष पहिले नै बाँदर नियन्त्रणका लागि जैमिनी नगरपालिका– ८ मा रहेको पुरानो गाउँको जंगलमा बाँदर बगैँचा बनाउनका निम्ति सम्भावना अध्ययन गरेको थियो । नगरपालिका र गण्डकी प्रदेशको तत्कालीन पर्यटन तथा वन मन्त्रालयबाट केही रकम छुट्टिएर केही संरचनासमेत बनाउने तयारी भयो ।  तर, त्यो योजना सफल हुन धेरै समय लाग्ने अनुमान गरिएको छ ।

‘नगरपालिकाले २७ करोडको डिपिआर तयारी गरेर केही काम पनि अगाडि बढायो । विभिन्न अध्ययन र योजना तयार गरिएको छ । तर, ठुलो रकम लाग्ने कानुनी समस्याका कारण समस्या भइरहेको छ,’ उपप्रमुख शर्माले भने । उनले बाँदरलाई निश्चित क्षेत्रमा केन्द्रित गर्ने अवधारणासहित पर्यटकीय पूर्वाधार निर्माणको डिपिआर तयार गरिएको बताए । पुरानो गाउँको पल्लो भागमा ‘बाँदर बगैँचा’ निर्माण गर्ने, रंगशालालगायतका संरचना बनाउने र बाँदरका लागि आवश्यक खानेकुरा तथा पानीको व्यवस्थापन गर्ने योजना बनाइएको थियो । ‘बाँदर व्यवस्थापनका लागि करिब २०–२५ हजार बाँदरलाई लक्षित गरी अवधारणा अघि सारिएको थियो, पानीका लागि पोखरी निर्माण गर्ने योजना पनि थियो,’ शर्मा भन्छन्, ‘तर, कानुनी जटिलताका कारण काम अघि बढ्न सकेन ।’

बाँदरआतंक कम गर्न रुख काट्ने अभियान, तर कानुनी जटिलता
नगरपालिकाले बाँदर नियन्त्रणका निम्ति विभिन्न उपायहरू पनि प्रयोग गर्ने विषयमा छलफल भएको शर्माले बताए ।  जैमिनी– १ का वडाध्यक्ष विष्णु आचार्यले बाँदर नियन्त्रणका लागि वडा कार्यालयले विभिन्न विकल्पमा काम गर्न खोजेको बताए। ‘नगरपालिकासँग समन्वय गरेर धेरै प्रयास गरियो,’ उनले भने, ‘तर, कुनै पनि उपाय प्रभावकारी हुन सकेन।’

आचार्यका  अनुसार बाँदर लुक्ने झाडी तथा बुट्यान हटाउने अभियान सञ्चालन गर्ने तयारीसमेत गरिएको थियो । टोल भेलाले निर्णय गरेर अगाडि बढ्न खोजिए पनि कानुनी समस्याका कारण कार्यान्वयन हुन सकेको छैन । ‘केही कानुनी जटिलताका कारण बाँदरआतंक नियन्त्रण गर्न निकै कठिन भएको छ,’ आचार्यले बताए । 

बाँदरआतंककै कारण जैमिनीका केही बस्तीहरू नै बसाइँसराइको प्रभावमा परेका छन् । खेतमा बाली लगाउनेभन्दा त्यसलाई जोगाउन बढी समय खर्चिनुपर्ने अवस्था छ । राज्यका विभिन्न निकायले समाधान खोज्ने आश्वासन दिए पनि किसानले अहिलेसम्म राहतको अनुभूति गर्न पाएका छैनन्। 

सुझावित समाचार