नेपाली सेनाको मध्यपूर्वी पृतनाअन्तर्गत मधेश प्रदेशका आठ जिल्ला तथा बागमती प्रदेशको रामेछाप, सिन्धुली र दोलखा गरी ११ जिल्लामा तैनाथ बाहिनी तथा गणहरूबिच प्रतिस्पर्धा हुने गरी ‘पृतनापति ट्रफी–२०८३’ बर्दिबास सैनिक शिविरस्थित खेलमैदानमा आरम्भ भएको छ।
प्रतियोगिताअन्तर्गत फुटबल, भलबल, बास्केटबल, स्विमिङ, जुडो, तेक्वान्दो, एथ्लेटिक्स र बक्सिङ गरी कुल आठ खेलहरू असार ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताको उद्घाटन मध्यपूर्वी पृतनाका पृतनापति उपरथी भुवन खत्रीले गरेका हुन्। गत वर्षको प्रतियोगिताका च्याम्पियन ९ नं. बाहिनी अड्डाका बाहिनीपति सहायक रथी भूमिभक्त बरालले पृतनापतिलाई टर्च हस्तान्तरण गरेका थिए।
उद्घाटनपश्चात् आफ्नो मन्तव्य राख्दै पृतनापति खत्रीले खेलकुदको माध्यमबाट सैनिकहरूमा अनुशासन, सहनशीलता, प्रतिस्पर्धात्मक भावना तथा नेतृत्व क्षमता विकास हुने बताए।
उद्घाटन कार्यक्रममा मध्यपूर्वी पृतनाअन्तर्गत रहेका ९, २७ र २८ नं बाहिनी अड्डाका बाहिनीपतिहरू, अन्य सुरक्षा निकायका प्रदेश प्रमुखहरू, पृतनाअन्तर्गत ११ वटा जिल्लाहरूमा तैनाथ गणका गणपतिहरू तथा युद्ध मद्दती र युद्ध सेवा मद्दतीका युनिटपतिलगायतको उपस्थिति थियो।
कार्यक्रममा पृतना हेडक्वाटरअन्तर्गत रहेका वाहिनी अड्डाहरुका खेलाडीहरुबाट मार्चपास, नेपालको समग्र जातजाति तथा क्षेत्रको पहिचान हुने गरी विभिन्न संस्कृति झल्कने ७ वटा प्रदेशको झाँकी प्रदर्शन, आत्म प्रतिरक्षासम्बन्धी ज्ञान अभिवृद्धि गर्न अनआर्मड कम्ब्याट ड्रिलअन्तर्गत तेक्वान्दो, आइकिदो तथा नेपालीहरुको वीरताको गौरव गाथा झल्काउन खुकुरी ड्रिलको समेत प्रदर्शनी गरिएको थियो।
यसैबिच पृतनापति खत्रीले आजै भएको सय मिटर दौडको महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरे।