शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

महाधिवेशन केवल नेतृत्व चयनको विषय होइन, राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर हो : लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पहिलो महाधिवेशन प्रक्रिया केवल नेतृत्व चयनको विषय नभई पार्टीको दीर्घकालीन जीवन, विधि, पद्धति र राजनीतिक संस्कार निर्माण गर्ने ऐतिहासिक अवसर भएको बताएका छन्।

केही बेरअघि सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्ला अधिवेशनको अवसरमा पार्टीका सदस्य तथा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले वडा र पालिका तहका अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको र जेठ २३ तथा २४ गते जिल्ला अधिवेशनहरू सञ्चालन भइरहेको उल्लेख गरे।

उनले पार्टीको सर्वोपरि हितका लागि सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक रहेको बताउँदै संवाद, सहमति तथा आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुनुपर्ने धारणा राखे। यस्ता प्रक्रियाले पार्टीलाई अझ बलियो र परिपक्व बनाउने उनको भनाइ छ। लामिछानेले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्यका लागि विचारसँगै व्यवहार, शैली र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्नेमा जोड दिए। पुरानै सोच, शैली र प्रवृत्तिबाट नयाँ तथा परिस्कृत जनमैत्री राजनीतिक शक्ति निर्माण हुन नसक्ने उनको तर्क थियो।

देउवादम्पतीको रेड नोटिस ‘होल्ड’मा

सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुविरुद्धको रेड नोटिस ‘होल्ड’मा राखिएको छ। 

पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी आरजुविरुद्ध नेपाल प्रहरीले रेड नोटिसका लागि इन्टरपोललाई पत्राचार गरेको थियो। देउवादम्पती तीन महिनादेखि विदेशमा छन्। उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्न इन्टरपोलले थप प्रमाण माग गरेको छ।

यसअघि जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा प्रहरीले प्रक्रिया अघि बढाएको थियो। त्यसलाई सर्वोच्चले बदर गरेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतबाट पक्राउ पुर्जी लिने तयारी गरेको छ। 

देशभर रास्वपाकाे जिल्ला अधिवेशन सुरु : ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले जेठ २३ र २४ गते गरी ६६ जिल्लामा जिल्ला अधिवेशन आयोजना गरेको जनाएको छ भने बारा जिल्लाको अधिवेशन विशेष परिस्थितिका कारण जेठ २६ गते हुने भएको छ।

पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार आज जेठ २३ गते देशभरका ३७ जिल्लामा अधिवेशन सम्पन्न हुँदै छ। कोशी प्रदेशका ८, मधेशका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ तथा सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन आयोजना गरिएको छ।

त्यसैगरी, भोलि जेठ २४ गते बाँकी २९ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ। कोशीका ४, मधेशका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ तथा सुदूरपश्चिमका ६ जिल्लामा अधिवेशन हुने तालिका सार्वजनिक गरिएको छ।

परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : मोबाइल लैजान दिने शिक्षक कर्मचारीलाई खोइ कारबाही?

सिराहा जिल्लाका विभिन्न केन्द्रमा गत चैतमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई) र वैशाखको दोस्रो सातादेखि सञ्चालित कक्षा १२ को परीक्षामा विद्यार्थीहरूबाट खोसिएका मोबाइल पानीमा डुबाएर नष्ट गरिएपछि चौतर्फी असन्तुष्टि बढेको छ। 

एसइई र कक्षा १२ को परीक्षामा विभिन्न परीक्षा केन्द्रमा विद्यार्थीबाट खोसिएका सातवटा आइफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन तथा पाँचवटा स्मार्ट घडी शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा पानीमा डुबाएर नष्ट गरिएपछि असन्तुष्टि बढेको हो। विद्यार्थीहरूबाट बरामद गरी नष्ट गरिएका मोबाइलसहितका सामग्रीको बजार मूल्य करिब एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

पाँच वर्षमा ११४ विरुद्ध रेड नोटिस, ५० जना पक्राउ

पछिल्लो पाँच वर्षमा नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ११४ जनाविरुद्ध रेड नोटिस जारी गरेको छ । प्रहरीको इन्टरपोल शाखाको तथ्यांकअनुसार ०७९ मा १३, ०८० मा ४१, ०८१ मा ३७, ०८२ मा १८ र ०८३ मा पाँचजनाविरुद्ध रेट नोटिस जारी भएको हो।

यो अवधिमा रेड नोटिस जारी भएका ५० जनालाई पक्राउ गरी नेपाल ल्याएको छ। ०७० मा ६, ०८० मा एक, ०८१ मा १८ , ०८२ मा ११ र ०८३ मा दुईजनालाई विदेशबाट पक्राउ गरी ल्याइएको प्रहरीका सहप्रवक्ता जबरा बताउँछन्।

निमित्त मेसुको भरमा नारायणी अस्पताल, पहिले बसेकाहरू सरुवा भए पनि आउन मान्दैनन्

नारायणी अस्पतालको मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेकाहरुको पुन: सरुवा भएपनि आउन तयार नभएको पाइएको छ । यसअघि मेडिकल सुपरिडेन्टको जिम्मेवारी सम्हालेका डा.चुमनलाल दास र डा.मदन उपाध्यायको नारायणी अस्पतालको पुन: मेसुमा सरुवा भएपनि आउन तयार नभएका हुन् ।

यसअघि करिब १४ महिना सम्म मेसुको जिम्मेवारीमा बसिकेका डा.दास बैशाखको सरुवामा कुनैपनि हालतमा यहाँ आउन तयार नभएपछि उनको अन्यत्र सरुवा भएको छ । गत कातिक १८ मा नारायणी अस्पतालबाट मन्त्रालयमा सरुवा भएका डा.दासको पुन नारायणी अस्पतालमा सरुवा भएपनि उनी जान तयार नभएको स्वास्थ्य तथा खाद्य स्वच्छा मन्त्रालयले जनाएको छ । 

शनिबारीय असन : खानाको स्वादसँगै संस्कृतिको रौनक (फोटोफिचर)

काठमाडौं महानगरपालिकाले काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन सुरु गरेको सामाजिक, सांस्कृतिक तथा परम्परागत व्यापारिक प्रवर्धन कार्यक्रम जारी छ।

करिब डेढ महिनाअघि सुरु गरिएको उक्त कार्यक्रममा सामाजिक, सांस्कृतिक तथा रैथाने व्यापारिक क्रियाकलाप भइरहेको छ। 

एक युवकलाई सोधपुछ गर्नुछ भन्दै प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको आरोप

सिराहाको लहान नगरपालिका- २४ का एक युवकले गाउँका साथीले बालिका भगाएको विषयमा सोधपुछ गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन्। काठमाडौंमा होटेल म्यानेजमेन्ट पढ्दै गरेका लहान- २४ का करिब २० वर्षीय अभिषेक पासवानले आफूलाई ‘सोधपुछ गर्नुपर्नेछ’ भन्दै गाउँ पुगेका प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा ल्याई निर्घात कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाएका हुन्।

क्याम्पस छुट्टी भएपछि दुई दिनअघि मात्र घर आएका उनले आफूलाई मुद्दा शाखाका प्रहरीले ‘बालिकालाई तेरो साथीले कहाँ लुकाएर राखेको छ?’ भन्दै एउटै प्रश्न पटक-पटक सोध्दै रातभर प्लास्टिकको पाइपले कुटपिट गरेको बताए। प्लास्टिकको पाइपले कुटपिट गर्दा दुवै खुट्टा, हातमा चोटपटक लागेको उनले बताए।

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैनः वर्षमान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टीको दुईतिहाइको सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउन नसकेको बताएका छन्।

नेपाल व्यवस्थापन संघद्वारा आयोजित आगामी आर्थिक वर्ष ०८३/८४ को पोस्ट बजेटसम्बन्धी अन्तर्क्रियामा पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए।

वर्षाले बागमती कप टी–२० प्रभावित, शनिबारका दुवै खेल स्थगित

हेटौँडा–६ स्थित गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबारका दुवै खेल वर्षाका कारण स्थगित भएका छन्। बिहानैदेखि परेको वर्षा र त्यसपछि मैदान पूर्ण रूपमा नसुकेकाले खेल सञ्चालन गर्न नसकिएको आयोजकले जनाएको छ ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष करण महतका अनुसार लगातारको वर्षापछि मैदान खेल्न योग्य अवस्थामा नपुगेकाले दिनभरका दुवै खेल स्थगित गर्ने निर्णय गरिएको हो। मैदान व्यवस्थापन टोलीले खेल सञ्चालनका लागि प्रयास गरे पनि आउटफिल्ड भिजेका कारण खेल खेलाउन सम्भव नभएको उनले बताए। शनिबार बिहान नुवाकोट र चितवनबिच प्रतिस्पर्धा हुने तालिका रहेको थियो भने दोस्रो खेलमा घरेलु टोली मकवानपुर र ललितपुरबिच खेल हुने कार्यक्रम तय गरिएको थियो। तर, मौसम प्रतिकूल बनेपछि दुवै खेल रद्द गरिएका हुन्।

सुझावित समाचार