राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीले जेठ २३ र २४ गते गरी ६६ जिल्लामा जिल्ला अधिवेशन आयोजना गरेको जनाएको छ भने बारा जिल्लाको अधिवेशन विशेष परिस्थितिका कारण जेठ २६ गते हुने भएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार आज जेठ २३ गते देशभरका ३७ जिल्लामा अधिवेशन सम्पन्न हुँदै छ। कोशी प्रदेशका ८, मधेशका २, बागमतीका ९, गण्डकीका ५, लुम्बिनीका ८, कर्णालीका २ तथा सुदूरपश्चिमका ३ जिल्लामा अधिवेशन आयोजना गरिएको छ।
त्यसैगरी, भोलि जेठ २४ गते बाँकी २९ जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ। कोशीका ४, मधेशका ४, बागमतीका २, गण्डकीका ४, लुम्बिनीका ३, कर्णालीका ६ तथा सुदूरपश्चिमका ६ जिल्लामा अधिवेशन हुने तालिका सार्वजनिक गरिएको छ।
पार्टीले यस तालिकाअनुसार आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको जनाएको छ। यससँगै पार्टीको मुख्य संगठनात्मक संरचना अधिकांश जिल्लामा स्थापित हुने विश्वास गरिएको छ। बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि क्रमशः आयोजना गरिने पार्टीले जनाएको छ।
रास्वपाले जिल्ला अधिवेशनपछि प्रदेश अधिवेशनको तयारीसमेत तीव्र बनाएको छ। जेठ २६ गतेबाट सातै प्रदेशका अधिवेशन सुरु हुनेछन्, जसको सुरुवात बागमती प्रदेशबाट गरिने जानकारी पार्टीले दिएको छ। पार्टी नेतृत्वले जिल्ला तथा प्रदेश अधिवेशनलाई संगठन विस्तार, नेतृत्व चयन र आगामी राष्ट्रिय महाधिवेशनको तयारीका लागि महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।