एक युवकलाई सोधपुछ गर्नुछ भन्दै प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको आरोप

प्रहरी भन्छ– कुटपिट होइन सोधपुछ मात्र गरेको हो

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका- २४ का एक युवकले गाउँका साथीले बालिका भगाएको विषयमा सोधपुछ गर्न भन्दै प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको आरोप लगाएका छन्। काठमाडौंमा होटेल म्यानेजमेन्ट पढ्दै गरेका लहान- २४ का करिब २० वर्षीय अभिषेक पासवानले आफूलाई ‘सोधपुछ गर्नुपर्नेछ’ भन्दै गाउँ पुगेका प्रहरीले बिहीबार इलाका प्रहरी कार्यालय लहानमा ल्याई निर्घात कुटपिट तथा मानसिक यातना दिएको आरोप लगाएका हुन्।

क्याम्पस छुट्टी भएपछि दुई दिनअघि मात्र घर आएका उनले आफूलाई मुद्दा शाखाका प्रहरीले ‘बालिकालाई तेरो साथीले कहाँ लुकाएर राखेको छ?’ भन्दै एउटै प्रश्न पटक-पटक सोध्दै रातभर प्लास्टिकको पाइपले कुटपिट गरेको बताए। प्लास्टिकको पाइपले कुटपिट गर्दा दुवै खुट्टा, हातमा चोटपटक लागेको उनले बताए।

‘बालिका भगाएको विषयमा मेरो कुनै संलग्नता पनि छैन र कहाँ राखेको छ भन्नेबारेमा पनि कुनै जानकारी छैन,’ उनले भने, ‘गाउँका मेरै उमेरका साथीले लहानकी १६ वर्षीया बालिकालाई भगाएको रहेछ, त्यही विषयमा सोधपुछ गर्ने नाममा ममाथि निर्घात कुटपिट भएको हो,’ ‘बालिका लिएर भागेका साथीले मसँग एकपल्ट मात्र मोबाइलमा कुराकानी गरेका थिए, त्यसपछि कुनै सम्पर्क, कुराकानी केही भएको छैन,’ उनले भने। 

कुटपिट होइन, सोधपुछ मात्र : प्रहरी
सोधपुछका लागि ल्याइएका युवकलाई सामान्य सोधपुछ मात्र गरेको प्रहरीको दाबी छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले प्रहरी नियन्त्रणमा लिइएका युवकलाई सोधपुछ गरेर भोलिपल्ट परिवारको जिम्मामा छोडिएको बताए। 

‘सोधपुछका लागि ल्याएका युवकसँग बालिका भगाएका युवकको पटक-पटक कुराकानी भएको पाइएको छ,’ उनले भने, ‘त्यही विषयमा सोधपुछ मात्र गरिएको हो, युवकसँग सोधपुछ गर्ने प्रहरीले हातपात र कुटपिट गरेका रहेछन् भने छानबिन हुन्छ र दोषी पाइएको खण्डमा विभागीय कारबाही हुन्छ।’ युवकले आरोप लगाए जसरी प्रहरीले निर्घात कुटेको भन्ने आरोपमा सत्यता नरहेको उनले बताए। 
 

See More On

सुझावित समाचार