वातावरण संरक्षणका लागि नीतिगत तथा कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै जनप्रतिनिधिहरूले नागरिकको दैनिक व्यवहारमा परिवर्तन आउनु अपरिहार्य रहेको औँल्याएका छन्।
विश्व वातावरण दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सांसदहरूले कानुनको प्रभावकारी कार्यान्वयन र व्यावहारिक सुधारमै जोड दिएका हुन्।
दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल र गोल्डेन गेट कलेजको संयुक्त आयोजनामा वातावरण प्रदूषणको बढ्दो चुनौती र समाधानका उपायबारे सरोकारवालाहरूबिच बृहत् छलफल भएको थियो।
प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्दिकीले नेपालमा वातावरण प्रदूषणको समस्या निकै गम्भीर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिन्। वातावरण प्रदूषण सबैको साझा सरोकारको विषय भएको उल्लेख गर्दै उनले भनिन्, ‘यसको न्यूनीकरणका लागि आवश्यक कानुन निर्माण र नीतिगत व्यवस्थाका लागि म आफ्नोतर्फबाट संसद् र सरकारलाई सचेत गराउन निरन्तर पहल गर्नेछु।’
सांसद डा. प्रमिला गच्छदारले वातावरण जोगाउन परम्परागत ज्ञान र सिप निकै उपयोगी हुने धारणा राखिन्। आफू थारू समुदायबाट आएको उल्लेख गर्दै उनले रैथाने अभ्यासहरूको महत्त्वमाथि प्रकाश पारिन्। ‘थारू समुदायले परम्परादेखि नै स्थानीय स्रोत र आफ्नै हातले बनाइएका घरेलु सामग्रीको प्रयोग गर्दै आएको छ, जसले दिगो वातावरण संरक्षणमा टेवा पुर्याउँछ,’ सांसद गच्छदारले भनिन्, ‘वर्षमा एक दिन मात्र वातावरण दिवस मनाएर उपलब्धि हासिल हुँदैन, वातावरणमैत्री व्यवहारलाई हामीले दैनिक जीवनको हिस्सा बनाउनुपर्छ।’
उनले यस्ता परम्परागत जीवनशैलीको प्रवर्द्धनका लागि नीतिगत व्यवस्था, कानुनी संरक्षण तथा जनचेतना अभिवृद्धि आवश्यक रहेकोसमेत बताइन्।
क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले वातावरण संरक्षणको मुद्दामा सबै सरोकारवालाहरू एकजुट भएर निरन्तर वकालत गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा विद्यार्थीहरूलाई चार समूहमा विभाजन गरी ‘क्याफे टक’ शीर्षकमा छलफल गराइएको थियो। छलफलपछि विद्यार्थीले वातावरण संरक्षणका चुनौतीहरू र तिनको सामना गर्ने नवीन तथा व्यावहारिक समाधानका उपायहरू प्रस्तुत गरेका थिए।