नेपाली कांग्रेस सभापति गगन थापाले सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि सबैको सम्पत्ति छानबिन आवश्यक रहेको बताएका हुन् ।
सम्पत्ति छानबिनलाई विश्वसनीय बनाउन सरकारमा रहेका व्यक्तिहरू स्वयं पनि छानबिनको दायरामा आउनुपर्ने उनले बताए । सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार र सार्वजनिक पदमा बसेकाहरूको सम्पत्तिको छानबिनको विषय हरेक राजनीतिक बहसको केन्द्रमा रहने गरेको बताए ।
कांग्रेसले आफ्नो प्रतिज्ञापत्रमै सम्पत्ति छानबिन गर्ने सशक्त आयोग गठन गर्ने प्रतिबद्धता जनाएको भन्दै हाल सरकारले गठन गरेको आयोगप्रति पनि सहयोग रहने बताए । ‘केही राजनीतिक दलका शीर्ष नेताहरूले हामी विवरण बुझाउँदैनौँ भनेर भन्नुभएको छ । त्यसबारेमा हाम्रो कुनै टिप्पणी छैन । तर, कांग्रेसका तर्फबाट म पनि र मेरो पार्टीका सबै साथीहरूले आफ्नो विवरण बुझाउनुहुन्छ,’ उनले भने ।