सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारीमा रहेका श्रमिक, गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी यात्रुले आफ्नो साथमा ल्याउन–लैजान पाउने निजी प्रयोगका वस्तुसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै १५ जेठदेखि लागू हुने गरी भन्सार सुविधाको विस्तृत व्यवस्था सार्वजनिक गरेको हो ।
कम्तीमा ६ महिना रोजगार गरेर फर्किएका नेपालीले आफूले प्रयोग गर्नेबाहेक थप एक थान नयाँ मोबाइल भन्सार छुटमा ल्याउन पाउने । आफू आउने समयभन्दा अघि वा पछि कार्गो, हुलाक वा अन्य माध्यमबाट पठाएका घरायसी पुराना सामानमा पनि भन्सार छुट पाउने । तर, ती सामान आफैँ उपस्थित भएर जाँचपास गराउनुपर्ने ।
लगातार कम्तीमा १२ महिना रोजगारी गरेर फर्केका नेपालीले ६५ इन्चसम्मको एक थान टेलिभिजन पनि पूर्ण भन्सार छुटमा एकपटक मात्र ल्याउन पाउने ।