उदयपुरको त्रियुगा नगरपालिका– १२, बुद्धकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
सोमबार राति जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स.९प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इँटाको पर्खालमा ठोक्किँदा भएको दुर्घटनामा एकको मृत्यु र एक गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी इन्स्पेक्टर विष्णुबहादुर खड्का अनुसार दुर्घटनामा गम्भीर घाइते भएका त्रियुगा नगरपालिका– १२ निवासी २४ वर्षीय मोटरसाइकलचालक हेमन्त सदालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनले भने, ‘उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।’
मोटरसाइकलको पछाडि सवार सोही वडाको सोनापुर निवासी १८ वर्षीय राकेश सदा गम्भीर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको खड्काको भनाइ छ । जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा रेफर गरिएको छ ।
हाल उनको उपचार त्यहीँ भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।