प्रतिनिधिसभाको बैठक सोमबार कार्यसूचीमै प्रवेश नगरी मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाल–भारत सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलका सांसदहरूले बैठक सुरु हुनेबित्तिकै विरोध गरेपछि सदन अवरुद्ध भएको हो।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद् कानुन निर्माण गर्ने महत्त्वपूर्ण थलो भएकाले सदन सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका थिए। तर, विपक्षी दलको विरोध जारी रहेपछि उनले दिनभरका लागि तय गरिएका सबै कार्यसूची हटाइएको घोषणा गरे।
त्यसपछि सभामुख अर्यालले संसद् बैठकका क्रममा अमर्यादित व्यवहार प्रदर्शन गरेको भनिएका सांसदहरूमाथि अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको जानकारी गराए।
सदनको अवरोध नहटेपछि सभामुखले बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका थिए।