नेपाली कांग्रेसका सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिको कडा आलोचना गर्दै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिएको विषयमा कांग्रेसको असहमति रहेको बताए। उनले उक्त भनाइले तीन करोड नेपालीको शिर निहुरिएको दाबी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरे।
‘संसदमा प्रधानमन्त्रीले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ,’ राईले भने, ‘नेपालले कहाँ–कहाँ भारतीय भूमि मिचेको छ ? त्यसको स्पष्ट जवाफ प्रधानमन्त्रीले दिनुपर्छ।’
उनले एउटा देशले अर्को देशको भूमि अतिक्रमण गरेको विषयलाई ‘क्रसबोर्डर अकुपेसन’का रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्दै प्रधानमन्त्रीले राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषयमा तथ्यहीन अभिव्यक्ति दिएको आरोप लगाए।
राईले सस्तो लोकप्रियताका लागि राष्ट्रियताको विषयलाई प्रयोग गर्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइलाई ‘इतिहासकै लज्जाजनक अभिव्यक्ति’ को संज्ञा दिए। उनले यस विषयलाई सामान्यीकरण गर्ने प्रयास भइरहेको आरोपसमेत लगाए।
कांग्रेसले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै त्यसो नभएसम्म संसद्को कामकारबाहीमा सहकार्य गर्न कठिन हुने चेतावनी दिएको छ।
यसैबिच, राईले सभामुखले पनि विषयमा मौनता अपनाएको भन्दै त्यसलाई गम्भीर चासोको विषय भएको बताएका छन्।