मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ बगुवास्थित कान्ति लोकपथ सडकखण्डमा फलामको पाइप बोकेको टेलर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्। शनिबार साँझ करिब ६ : २० बजे हेटौँडाबाट बगुवातर्फ जाँदै गरेको ना ६ ख ४०४२ नम्बरको टेलर मकवानपुर र ललितपुर जोड्ने बागमती खोलाको पुलबाट तल खोलामा खसेर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय ठिंगनका अनुसार बागमती हाइड्रोपावरका लागि फलामका पाइप बोकेको उक्त टेलरमा बाँधिएको तार (टुचिन) चुँडिएपछि गाडी अनियन्त्रित भई पुलबाट खोलामा खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा टेलरचालक हेटौँडा उपमहानगरपालिका–३ निवासी करिब ३० वर्षीय दलबहादुर बर्तौला सम्पर्कविहीन रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
टेलरमा सवार सहचालक राक्सिराङ गाउँपालिका–९ निवासी १७ वर्षीय प्रशन्न प्रजा भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको नेतृत्वमा ट्राफिक प्रहरीसहित पाँचजनाको टोली घटनास्थल पुगेको थियो। साथै, नेपाली सेनाको फास्ट ट्र्याक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको कमान्डमा सातजनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ।