गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्छ : गगन थापा

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सभापति गगन थापाले गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा नयाँ उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले नेपालमा लोकतन्त्र स्थापना तथा पुनर्स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनहरूमा सहादत प्राप्त गर्ने ज्ञात–अज्ञात सम्पूर्ण वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। 

उनले नेपाली जनताको त्याग, संघर्ष र बलिदानको परिणामस्वरूप ऐतिहासिक जनआन्दोलन ०६२/६३ सफल भएको उल्लेख गर्दै त्यसपछिको राजनीतिक परिवर्तनमार्फत संविधानसभाको निर्वाचन सम्पन्न भएको बताए। साथै, संविधानसभाको पहिलो बैठकबाट वि.सं. ०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्दै राजतन्त्रको अन्त्य गरिएको स्मरण गरेका छन्।

सभापति थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन्।

उनले लोकतान्त्रिक मूल्य, मान्यता, संस्कार र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणका लागि सबै पक्षले जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। अन्त्यमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सुझावित समाचार