हेटौँडा–कुलेखानी–फाखेल सडक एक महिनाका लागि बन्द

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशको राजधानी हेटौँडा र स‌ंघीय राजधानी काठमाडौं जोड्ने छोटो दूरीको हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। निर्माणाधीन पुल र सडक ढलानको कामलाई तीव्रता दिन जेठ १५ गतेदेखि उक्त सडक बन्द गरिएको हो।

पूर्वाधार विकास कार्यालय हेटौँडाले निर्माण कार्य सहज बनाउन सडक बन्द गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई अनुरोध गरेपछि प्रशासनले उक्त सडकखण्डमा पूर्ण रूपमा सवारी आवागमनमा रोक लगाएको हो। कार्यालयका अनुसार इन्द्रसरोवर गाउँपालिका– २ स्थित महालक्ष्मी खोलामा पक्की पुल निर्माण भइरहेको छ। सोही क्षेत्रको सडकखण्डमा ढलान कार्यसमेत सुरु गर्न लागिएकाले निर्माण कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले सडक बन्द गरिएको जनाएको छ।

निर्माण कम्पनीलाई चालू आर्थिक वर्ष ०८२/८३ भित्रै काम सम्पन्न गर्नुपर्ने दबाब रहेको र सडकमा दैनिक सवारी चाप अत्यधिक हुने भएकाले काम प्रभावित भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। निर्माणका क्रममा सडक साँघुरो हुने, सवारीजाम बढ्ने तथा यात्रुले अनावश्यक सास्ती भोग्नुपर्ने अवस्था देखिएकाले केही समयका लागि पूर्ण बन्दको निर्णय गरिएको हो ।

यस सडकखण्ड बन्द भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने साना तथा ठुला सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। यात्रु तथा सवारीचालकलाई हेभी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकखण्ड प्रयोग गर्न अनुरोध गरिएको छ। 

सुझावित समाचार