राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने नयाँ व्यवस्था सुरु गरेको छ।
सम्पत्ति छानबिन आयोग– २०८३ को सूचनाअनुसार एक महिनाभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने उपसचिव वा सोभन्दा माथिल्लो तहका बहालवाला तथा निवृत्त कर्मचारीलाई सहज सेवा दिन यो व्यवस्था लागू गरिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार लगातार सार्वजनिक बिदा परेका कारण देश तथा विदेशमा रहेका सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरबाटै सेवा सञ्चालनमा ल्याइएको हो।
उनले सरकारको सूचना प्रविधिमैत्री सेवा प्रवाह नीतिअनुरूप परम्परागत प्रणालीलाई क्रमशः विद्युतीय माध्यममा रूपान्तरण गर्दै लगिएको बताए।
नयाँ व्यवस्थाअन्तर्गत तोकिएका कर्मचारीले सार्वजनिक बिदाका दिनसमेत घरबाटै कम्प्युटर तथा इन्टरनेटमार्फत सेवा सञ्चालन गर्नेछन्। सेवाग्राहीले पनि मोबाइल फोनबाटै आवश्यक सेवा लिन सक्ने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
राष्ट्रिय किताबखानाका अनुसार ०८३ जेठ १४ गतेदेखि लगातार चार दिनको सार्वजनिक बिदाका अवधिमा समेत यो सेवा सञ्चालन गरिएको हो।
कार्यालयले विद्युतीय हुलाक, ह्वाट्सएपलगायत डिजिटल माध्यम प्रयोग गरी बहालवाला तथा निवृत्त कर्मचारीलाई ‘तलबी आम्दानीको निस्सा’ उपलब्ध गराउँदै आएको जनाएको छ। यस अभियानमा चारजना कर्मचारी स्वैच्छिक रूपमा सहभागी भएका छन्।