बाटोमा हिँडिरहेका एक युवकले अर्का युवकलाई धक्का दिँदा मृत्यु

मंगलबार, १२ जेठ, २०८३
डिजिटल संस्करण

रौतहटको चन्द्रपुर नगरपालिका– ४ मा मदिरा सेवन गरेका एक युवकले बाटोमा हिँडिरहेका अर्का युवकलाई धक्का दिँदा उनको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका– ४ निवासी ३० वर्षीय विष्णु सुवेदी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उपचारका क्रममा गएराति सुवेदीको मृत्यु भएको हो।

प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका– ६ घर भई हाल चन्द्रनिगाहपुरमा डेरा गरी बस्दै आएका ३८ वर्षीय विमल मोक्तानले मदिरा सेवन गरेकाे अवस्थामा बाटोमा हिँडिरहेका सुवेदीलाई धक्का दिएका थिए। घटनाका वेला मोक्तान र उनकी श्रीमतीबिच सडकमै विवाद तथा झगडा भइरहेको बताइएको छ। सोही क्रममा त्यहाँबाट हिँडिरहेका विष्णु सुवेदीलाई मोक्तानले एक्कासि धकेलेपछि उनी भुइँमा लडेर गम्भीर घाइते भएका थिए। स्थानीयवासीका अनुसार लड्नेबित्तिकै सुवेदी केहीबेर मूर्च्छित अवस्थामा रहेका थिए।

घटनापछि स्थानीयवासी तथा आफन्तले तत्कालै सुवेदीलाई चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचारका लागि पुर्याएका थिए। अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्न सुझाव दिएका थिए। तर, आर्थिक अभावका कारण परिवारले उनलाई घरमै ल्याएको बताइएको छ। घर फर्काइएका सुवेदीको स्वास्थ्य अवस्था रातभर बिग्रिँदै गएको र गएराति करिब १२ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। घटनापछि प्रहरीले आरोपित विमल मोक्तानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

See More On

सुझावित समाचार