समस्याग्रस्त थप तीन सहकारीका १७ सय ऋणीको नाम सार्वजनिक
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित तीन सहकारी संस्थाका १ हजार ७ सय ७० जना ऋणीहरूको नाम सार्वजनिक गरेको छ।
समितिले सोमबार सूचना जारी गर्दै घेदुङ बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी तथा आइडियल यमुना बहुउद्देश्यीय सहकारीका ऋणीहरूको नामावली सार्वजनिक गरेको जनाएको हो।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका चार निर्णय सार्वजनिक भएका छन्। शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
सरकारले ल्याएको अध्यादेशमा टेकेर देउवादम्पतीको पक्राउ पुर्जी खारेज
सर्वाेच्च अदाललते पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नीविरुद्धको पक्राउ पुर्जी स्वतः निष्क्रिय हुने आदेश गरेको छ। हालको सरकारले ल्याएको अध्यादेशमा टेकेर सर्वाेच्चले यस्तो आदेश दिएको हो।
देउवादम्पतीलाई सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत, काठमाडौंले गत २४ चैतमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यति वेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अधिकार क्षेत्र जिल्ला अदालत थियो। गत १८ वैशाखमा राजपत्रका प्रकाशित सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेशले विभागलाई थप शक्तिशाली बनाउँदै विशेष अदालतमा मुद्दा दायर गर्ने प्रावधान राखेको थियो। सोही आधार बनाएर सर्वाेच्चका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासले जिल्ला अदालतको पक्राउ अनुमति स्वतः निष्क्रिय हुने फैसला गरेको हो।यो आदेशपछि तत्काल देउवादम्पती पक्राउ नपर्ने भए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतबाट पक्राउ पुर्जी लिन सक्ने कानुनविद्हरू बताउँछन्।
क्यानको नयाँ वर्गीकरण सार्वजनिक, तीन खेलाडीले मासिक १ लाख २० हजार पाउने
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण नवीकरण गरेको छ। क्यानले पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई केन्द्रीय सम्झौतामा नवीकरण तथा आबद्ध गरेको हो।
महिला र पुरुषतर्फ ए, बी, सी र डेभलपमेन्ट श्रेणीसहित पुरुषतर्फ ‘ए प्लस’ श्रेणी थप गरिएको छ। क्यानले पुरुषतर्फ श्रेणी ‘ए प्लस’मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ। उनीहरूको पारिश्रमिकसमेत वृद्धि भएकाे छ। उनीहरूले अब मासिक एक लाख २० हजार पाउनेछन्।
गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु, शव व्यवस्थापनको विषयले कटारी अस्पतालमा तनाव
उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु भएको छ। घटनापछि शव व्यवस्थापनको विषयलाई लिएर प्रादेशिक अस्पताल कटारीमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विष्णुबहादुर खड्काका अनुसार सोमबार बिहान सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र ०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन कटारी–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनामा कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा घाइते भएपछि उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।
११ कक्षाको छात्रवृत्तिका लागि काठमाडौं महानगरमा २६ हजार आवेदन
काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य छन्।
आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको महानगरपालिकाले जनाएको छ। शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्यसचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनुपर्ने देखिएकाले सच्याउनका लागि मोबाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ। मंगलबार दिउँसो १२ जनासम्म विवरण सच्याएर पुनः पेस गर्न भनिएको उनले बताए।
प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरूलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको महानगरपालिकाले जनाएको छ।
किसानलाई दुधको दैनिक एक करोड भुक्तानी
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि कार्ययोजना अघि बढाएसँगै दुग्ध किसानलाई दैनिक रूपमा करिब एक करोड रुपैयाँ भुक्तानी हुन थालेको बताएकी छिन्।
पछिल्लो चार महिनादेखि बाँकी रहेको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये हालसम्म १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। बाँकीमध्ये एक महिनाको रकम आगामी असार १३ गतेभित्र वितरण गर्ने तयारी गरिएको छ।
हाल डिडिसीको दैनिक कारोबार करिब एक करोड रुपैयाँ रहेको र सोही रकम नियमित रूपमा किसानलाई भुक्तानी भइरहेको बताइएको छ। अझै बाँकी रहेको करिब ४६ करोड रुपैयाँ भने आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानको खातामा जम्मा गरिने मन्त्रालयको भनाइ छ।
प्रधानन्यायाधीश नियुक्तिको विवाद टुंगियो, सर्वाेच्चद्वारा दरपीठको आदेश सदर
प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी विवाद सर्वाेच्च अदालतबाट किनारा लागेको छ। सिफारिसविरुद्धको रिट दरपीठ गर्ने निर्णयलाई सर्वाेच्चले सदर गरेको छ।
डा. प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउनुनपर्ने प्रकृतिको देखिएको भन्दै सर्वाेच्चले सोमबार दरपीठकै आदेश सदर भएको हो । कारणबारे आदेशमा थप भनिएको छ, ‘उल्लेखित माग बदर भएको सिफारिस कार्यान्वयन भई नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइसमेत भएर प्रधानन्यायाधीशको नियुक्तिको कार्य सम्पन्न भइसकेको देखिन्छ ।
भोलि बिहान इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्दै प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाहले भोलि मंगलबार नेपालस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि चैत २५ गते प्रधानमन्त्रीले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक छलफल गरेका थिए।
अर्थ मन्त्रालयको विवादले मधेशमा रोकियो मन्त्रिपरिषद् विस्तार
मधेश प्रदेशमा सत्तागठबन्धन फेरिएपछि नयाँ गठबन्धन दलभित्र पुनः विवाद सुरु भएको छ।
नयाँ सत्तागठबन्धनभित्र अर्थ मन्त्रालयको जिम्मेवारीलाई लिएर नेकपा र मुख्यमन्त्री कृष्णप्रसाद यादवबिच सहमति जुट्न नसक्दा आइतबार तय गरिएको मन्त्रिपरिषद् विस्तार अन्तिम समयमा रोकिएको हो।
मुख्यमन्त्री यादवले गठबन्धन दल एमाले र नेकपासँग मन्त्री बन्ने प्रदेश सांसदहरूको नाम माग गरी सरकार विस्तारको तयारी अघि बढाएका थिए। एमालेले आफ्नो भागमा परेको मन्त्रालयका लागि सांसदहरूको नामसमेत प्रदेश प्रमुख कार्यालयमा बुझाइसकेको थियो। मन्त्रीहरूको शपथको तयारीसमेत पूरा भइसकेको अवस्थामा नेकपाले अर्थ मन्त्रालय आफूलाई दिनुपर्ने अडान दोहोर्याएपछि परिस्थिति अचानक बदलिएको हो।