गुडिरहेको स्कुल बसबाट खस्दा सहचालकको मृत्यु, शव व्यवस्थापनको विषयले कटारी अस्पतालमा तनाव

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

उदयपुरको कटारी नगरपालिका–२ गिद्धबारमा गुडिरहेको स्कुल बसबाट खस्दा सह–चालकको मृत्यु भएको छ। घटनापछि शव व्यवस्थापनको विषयलाई लिएर प्रादेशिक अस्पताल कटारीमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्सपेक्टर विष्णुबहादुर खड्काका अनुसार सोमबार बिहान सौगात एकेडेमी बोर्डिङ स्कुलको लु.प्र ०१–००१ ख ०९८५ नम्बरको बस विद्यार्थी लिन कटारी–१ बेलसोततर्फ जाँदै गरेको अवस्थामा सह–चालक बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनामा कटारी नगरपालिका–२ निवासी अन्दाजी ३१ वर्षीय उत्तम थापा घाइते भएपछि उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको थियो।

घटनापछि बस र चालक कटारी नगरपालिका–२ निवासी ४८ वर्षीय छत्रबहादुर कार्कीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

शव व्यवस्थापनको विषयले तनाव
मृतकको शव पोस्टमार्टमका लागि अस्पताल  राख्ने व्यवस्थासम्बन्धी केही प्राविधिक समस्या देखिँदा मृतकका आफन्त तथा स्थानीयवासी असन्तुष्ट देखिएका थिए। अस्पतालमा शव संरक्षणका लागि प्रयोग हुने फ्रिजमा समस्या देखिएपछि केहीबेर अस्पतालपरिसरमा असहज अवस्था बनेको थियो।

अस्पतालका प्रमुख चिकित्सक डा. गौरव साहका अनुसार अस्पतालमा हालै जडान गरिएको शव संरक्षण फ्रिज विद्युत् आपूर्तिको समस्याका कारण प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। सोही कारण पोस्टमार्टम प्रक्रियामा केही असहजता उत्पन्न भएको उनले बताए। ‘शव राख्ने नयाँ फ्रिज ल्याएका थियौँ। विद्युत् आउने–जाने समस्याले उपकरणमा समस्या देखियो। मर्मतको प्रयास भइरहेकै बेला आफन्त तथा स्थानीयले विरोध गरे। पोस्मार्टम कक्षको शव उठाएर इमरजेन्सी कक्षमा राखे। मलाई गालीगलाैज गरे। कुटपिटको प्रयास भएपछि म अस्पतालबाहिर छु।’

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी उमेन्द्र खरेलले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताउँदै अहिले विरोध गर्ने पक्षसँग छलफल गरिरहेको बताए। उनले भने, ‘हामी छलफलमा छौँ। अब अस्पतालको तनाव हट्नेवाला छ।’

सुझावित समाचार