प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी विवाद सर्वाेच्च अदालतबाट किनारा लागेको छ। सिफारिसविरुद्धको रिट दरपीठ गर्ने निर्णयलाई सर्वाेच्चले सदर गरेको छ।
डा. प्रेमराज सिलवाल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउनुनपर्ने प्रकृतिको देखिएको भन्दै सर्वाेच्चले सोमबार दरपीठकै आदेश सदर भएको हो । कारणबारे आदेशमा थप भनिएको छ, ‘उल्लेखित माग बदर भएको सिफारिस कार्यान्वयन भई नेपालको संविधानको धारा २९२ बमोजिम संसदीय सुनुवाइसमेत भएर प्रधानन्यायाधीशको नियुक्तिको कार्य सम्पन्न भइसकेको देखिन्छ । परिणामतः निवेदकले परिवर्तन भइसकेको र पछिल्लो परिवर्तित प्रक्रियालाई थप चुनौती दिएको देखिँदैन।’ न्यायाधीश मेघराज पोखरेलको इजलासले दरपीठको निर्णय सदर गरेको हो। आदेशमा थप भनिएको छ, ‘प्रस्तुत निवेदन दर्ता गरी प्रक्रिया अगाडि बढाउनुपर्ने प्रकृतिको नदेखिँदा रजिस्ट्रारबाट भएको मिति २०८३/१/२५ को आदेश बदर गरिरहनुपरेन।’
यसअघि सर्वोच्चले यी रिट दरपीठ गरे पनि सोउपरको निवेदन इजलासमा दर्ता गर्न मानेको थिएन। आलटाल गरेको भन्दै नेपाल बार एसोसिएसनले तत्कालीन कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको ध्यानाकर्षणसमेत गराएको थियो। निवेदकहरूको गुनासोपछि प्रशासनलाई दर्ताका लागि आदेश दिए पनि दर्ता भएको थिएन। प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माले कार्यभार लिएपछि ती रिट दर्ता भएका थिए।
संवैधानिक परिषद्ले वरीयतामा चौथो नम्बरमा रहेका शर्मालाई सिफारिस गरेपछि त्यसविरुद्ध रिट दर्ताको प्रयास भएको थियो।