किसानलाई दुधको दैनिक एक करोड भुक्तानी

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) सुधारका लागि कार्ययोजना अघि बढाएसँगै दुग्ध किसानलाई दैनिक रूपमा करिब एक करोड रुपैयाँ भुक्तानी हुन थालेको बताएकी छिन्।

पछिल्लो चार महिनादेखि बाँकी रहेको करिब ५८ करोड रुपैयाँ बक्यौतामध्ये हालसम्म १२ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको मन्त्रालयले जनाएको छ। बाँकीमध्ये एक महिनाको रकम आगामी असार १३ गतेभित्र वितरण गर्ने तयारी गरिएको छ।

हाल डिडिसीको दैनिक कारोबार करिब एक करोड रुपैयाँ रहेको र सोही रकम नियमित रूपमा किसानलाई भुक्तानी भइरहेको बताइएको छ। अझै बाँकी रहेको करिब ४६ करोड रुपैयाँ भने आगामी दुई महिनाभित्र चरणबद्ध रूपमा किसानको खातामा जम्मा गरिने मन्त्रालयको भनाइ छ।

मन्त्री चौधरीले दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित भइरहेकाले बाँकी दायित्व पनि क्रमशः समाधान हुँदै जाने उल्लेख गरिन्। दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै उनीहरूको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

सुझावित समाचार