नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला तथा पुरुष खेलाडीको वर्गीकरण नवीकरण गरेको छ। क्यानले पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई केन्द्रीय सम्झौतामा नवीकरण तथा आबद्ध गरेको हो।
महिला र पुरुषतर्फ ए, बी, सी र डेभलपमेन्ट श्रेणीसहित पुरुषतर्फ ‘ए प्लस’ श्रेणी थप गरिएको छ। क्यानले पुरुषतर्फ श्रेणी ‘ए प्लस’मा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा स्पिनर सन्दीप लामिछानेलाई समावेश गरेको छ। उनीहरूको पारिश्रमिकसमेत वृद्धि भएकाे छ। उनीहरूले अब मासिक एक लाख २० हजार पाउनेछन्।
यस्तै, श्रेणी ‘ए’तर्फ सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी छन्। उनीहरूले एक लाख पाउने क्यानले जनाएको छ। श्रेणी ‘बी’मा समावेश आरिफ शेख, भीम सार्की, गुल्सन झा, ललितनारायण राजवंशी र नन्दन यादवले मासिक ७५ हजार रूपैयाँ पाउने छन्।
यता, महिलातर्फ कप्तान इन्दु बर्मा, उपकप्तान पूजा महतो, पूर्वकप्तानद्वय रुबिना क्षेत्री र सीता रानामगर श्रेणी ‘ए’मा छन्। उनीहरूले ५५ हजार पाउनेछन्।
क्यानका अनुसार महिला तथा पुरुष खेलाडीलाई म्याच फी पनि तोकेको छ । टी२० आई खेल्नेले दश हजार तथा एकदिवसीय खेल्नेले १५ हजार पाउनेछन्।
यस्तो छ खेलाडीको वर्गीकरण
