बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने भएको छ। नीति तथा कार्यक्रम पेस गर्नका लागि मंगलबार साँझ ५ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ।
बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो।
सरकारका प्रवक्ता तथा प्रभात तामाङले मंगलबार प्रदेश सभामा पेस गर्ने गरी नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए।
यस्तै, बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरेको ‘बागमती प्रदेश सहरी नीति’ स्वीकृत गरेको छ। साथै, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ल्याएको ‘जीवनाशक विषादी व्यवस्थापन’सम्बन्धी विधेयकलाई थप छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको मन्त्री तामाङले बताए।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले ‘कृषि सहुलियत कर्जा ब्याज अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३’ को मस्यौदालाई मन्त्रिपरिषद् समितिमा पठाउने निर्णय पनि गरेको छ। उक्त कार्यविधिमार्फत कृषि उद्योग तथा व्यवसायलाई सहुलियत ऋण उपलब्ध गराउने र ब्याजमा अनुदान दिने व्यवस्था गरिने मन्त्री तामाङले बताए।
बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा तयार गरिएको ‘प्रदेश जनसंख्या नीति २०८३’ लाई अध्ययन तथा परिमार्जनका लागि समितिमा पठाउने निर्णय पनि गरेको छ। यस्तै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले तयार गरेको प्रदेशको विद्युत् विकाससम्बन्धी विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको मन्त्री तामाङले जानकारी दिए।