नेपालले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापानमा हुने २०औँ एसियन खेलकुअन्तर्गत छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार दीपेन्द्रको कप्तानीमा टोली घोषणा गर्दा पूर्वकप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी र करण केसीले स्थान बनाएका छन् । यसअघि यी तीन खेलाडीले युएईविरुद्धको दुई टी–२० आई सिरिजमा मौका पाएका थिएनन् ।
यसपटक नेपाली टोलीमा कुशल मल्लसहित साहब आलाम पनि फर्किएका छन् । विश्वकप लिग २ मा गतिलो प्रदर्शन गरेका गुल्सन झा, ललितनारायण राजवंशी र ईशान पाण्डेले स्थान बनाउन सकेनन् । प्रशिक्षक स्टुवार्ट लले एकदिवसीय र टी–२० आई फम्र्याटमा दुई कप्तान चयन गर्दा रोहितले युएईविरुद्धको सिरिज गुमाएका थिए । आइसिसी विश्वकप क्रिकेट लिग २ मा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि रोहितले टी–२० आईमा स्थान पक्का गरेका हुन् ।
जापानको आइसी–नागोयामा आगामी १७ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म एसियाड खेल हुनेछ । एसियाडमा सहभागी हुन सिंगापुरमा ३१ मेदेखि छनोट प्रतियोगिता सुरु हुँदै छ । सोही छनोटका लागि क्यानले टोली घोषणा गरेको हो । छनोटका शीर्ष चार टोलीले जापानको टिकट पक्का गर्नेछन् । १३ राष्ट्र सहभागी टी–२० आई छनोट प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ ।
नेपालको पहिलो खेल चीनसँग
क्वालिफायर्समा समूह ‘ए’मा रहेको नेपालले मलेसिया, कतार र चीनलाई प्रतिद्वन्द्वीका रूपमा पाएको छ । नेपालले समूह चरणको पहिलो खेलमा ३१ मेमा चीनको सामना गर्नेछ भने २ जुनमा कतारविरुद्ध खेल्नेछ । ४ जुनमा नेपाल र मलेसियाबिच खेल हुने एसिसीले जनाएको छ ।
यसैगरी, समूह ‘बी’मा ओमान, माल्दिभ्स र सिंगापुर रहेका छन् । समूह ‘सी’मा हङकङ, बहराइन र दक्षिण कोरिया छन् । समूह ‘डी’मा मलेसिया, कतार, चीन र उज्वेकिस्तान छन् । छनोटबाट आएका शीर्ष चार टोलीले साबिक विजेता भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र आयोजक जापान सम्मलित २०औँ एसियाड खेल्नेछन् । १९औँ एसियाडमा नेपालले आइसिसीको टी–२० वरीयताका आधारमा सिधै प्रतिस्पर्धा गरेको थियो । यसपटकको एसियाडमा १० टोलीले क्रिकेटमा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दै छन् ।
ललित र अर्जुन नेपाल ‘ए’ टोलीमा
क्यानले सिनियरसँगै नेपाल ‘ए’को टोली पनि घोषणा गरेको छ । क्यानले ललितनारायण राजवंशी र अर्जुन कुमाललाई समेट्दै भारतको उत्तराखण्डमा हुने अल इन्डियन गोल्डकपका लागि नेपाली ‘ए’ टोलीको घोषणा गरेको हो । अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीयमा हेमन्त धामी, तृतराज दास, देव खनाल र पवन सर्राफ रहेका छन् । ललित र अर्जुनले गत शुक्रबार आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड र अमेरिकाविरुद्धका त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालको सिनियर टोलीबाट प्रतिस्धर्पा गरेका थिए । नेपाल ‘ए’ले ३० मेमा केरलासँग खेल्नेछ । ३१ मेमा गोवा र २ जुनमा नेपालले उडिसाको सामना गर्नेछ ।
गुल्सन र ईशानले बेल्जियम लिग खेल्ने
नेपाली टोलीमा नरहेका अलराउन्डरहरू गुल्सन झा र ईशान पाण्डेले बेल्जियममा हुने इयू टी–२० लिग खेल्नछन् । क्यानका अनुसार गुल्सन र ईशानले जेबी ब्रुजबाट खेल्ने पक्का गरेका हुन् । लिग ६ जुनदेखि सुरु हुँदै छ ।