ताप्लेजुङ–पाँचथरमा बाढी–पहिरोको वितण्डा : लिम्बुनी पुल बग्यो, यातायात ठप्प

आइतबार, १० जेठ, २०८३
डिजिटल संस्करण

ताप्लेजुङ र पाँचथर जिल्लामा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ । विशेषगरी ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुंगे पुल, सडक तथा गाउँ प्रभावित भएका छन् । ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

तमोर करिडोरअन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको ‘लिम्बुनी पुल’ बाढीले बगाउँदा ठुलो क्षति भएको छ । ताप्लेजुङ र पाँचथर जोड्ने उक्त महत्त्वपूर्ण मोटरेबल पुल शुक्रबार राति करिब २ः३० बजे आएको भीषण बाढीले पूर्ण रूपमा बगाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले जानकारी दिए ।

निर्माण सम्पन्न हुनै लागेको अवस्थामा पुल बग्दा ठुलो क्षति पुगेको प्रजिअ सेढाईंले बताए । पूर्वी नेपालको समृद्धिसँग जोडिएको लिम्बुनी पुल उत्तर–दक्षिण राजमार्ग तमोर करिडोरको प्रमुख जीवनरेखा मानिन्छ । सडक कालोपत्रे हुने चरणमा पुगे पनि आठ वर्ष बितिसक्दासमेत पुल निर्माण सम्पन्न हुन सकेको थिएन । अहिले पुल बगाएपछि यसको निर्माण थप अनिश्चित बनेको छ ।

त्यस्तै, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ४, साब्लाखु र पाँचथरको याङवरक गाउँपालिका– ४, थर्पु जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा पनि बाढीले ठुलो क्षति पुर्याएको छ । शुक्रबार राति आएको बाढीले पुलको साब्लाखुतर्फ करिब ६ मिटर भाग भत्काइदिएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध बनेको हो ।

स्थानीय सञ्जय पन्दाकका अनुसार पुलको पक्की संरचनासमेत जोखिममा परेको छ । पुलमा क्षति पुगेपछि सिदिङ्वा गाउँपालिका तथा सिरिजंघा गाउँपालिकाको खेवाङ र याम्फुदिन क्षेत्रबाट सदरमुकाम फुङलिङ तथा पाँचथर, इलाम हुँदै लामो दूरीमा सञ्चालन हुने सवारीसाधन ठप्प भएका छन् ।

सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) ले साँझपछि इन्द्रावती खोलाको माथिल्लो क्षेत्रमा भारी वर्षा भएपछि अचानक बाढी आएको बताइन् । उनका अनुसार सिदिङ्वातर्फ भित्रिने यात्रु तथा मालवाहक सवारीसाधन पाँचथरतर्फ नै रोकिएका छन् ।

उता पाँचथरको याङवरक गाउँपालिकामा पनि बाढी र पहिरोले व्यापक क्षति पुर्याएको छ । दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्गआसपासका क्षेत्रमा आएको बाढीले सडक, पुल, जलविद्युत् आयोजना तथा सर्वसाधारणका घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजना सहित दर्जनौँ संरचना प्रभावित भएका छन् । यस्तै, याङवरक– ३ र ७ को सीमावर्ती लाम्बाखोला ढाँड–एकराते क्षेत्रमा माथिबाट खसेको पहिरोले महमलाल खवास र कवीन्द्र खवासको घर बगाएको उनले जानकारी दिए ।

बाढीले याङवरक–१, २ र ३ का विभिन्न खोला–नालामा रहेका झोलुंगे तथा पक्की पुलमा समेत क्षति पुर्याएको छ । साथै, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ ।

डिएसपी कर्णले निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । बाढी र पहिरोका कारण खेतीयोग्य जमिन तथा अलैँची खेतीमा समेत ठुलो क्षति पुगेको जनाइएको छ ।

स्थानीयवासीले प्रभावित क्षेत्रमा तत्काल राहत, वैकल्पिक यातायात व्यवस्था तथा पुलहरूको शीघ्र पुनर्निर्माणको माग गरेका छन् ।

सुझावित समाचार