पृथ्वी सबैको साझा घर हो । यहाँ बस्न र बाँच्न पाउने अधिकार सबैलाई छ । मानिस, जलचर, थलचर, पशुपक्षी र वन्यजन्तु सबैको समान अधिकार छ । यही अधिकारको पक्षमा वकालत गर्दै ठाकुरबाबा नगरपालिका– ९, हात्तीसार ५२ वर्षीय रामबहादुर शाही हिँडेका छन् ।
शाही बिहान घरको काम सकेर एउटा झोला, क्यामेरा, बाइनाकुलर र पानीको बोतल बोकेर हिँड्ने गर्छन् । पेसाले उनी प्रकृति पदप्रदर्शक हुन् । बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक घुमाउनेबाहेक उनले चरा संरक्षणका लागि काम गर्दै आएका छन् । चरा संरक्षणका लागि काम उनको जागिर होइन । तैपनि चरा संरक्षणका लागि उनी अनवरत लागेका छन् ।
बाघ, हात्ती, गैँडालगायत वन्यजन्तुको संरक्षणका लागि धेरैले चासो देखाउँदै आएका छन् । तर, चरा संरक्षणमा राज्य र संरक्षणकर्मीको ध्यान पुग्न नसकेको शाहीले बताए। उनले भने, ‘चरा किसानका सबैभन्दा नजिकका साथी हुन । तर, किसानलाई यो कुरा बुझाउन सकिएको छैन । चराका बारेमा किसानलाई बुझाउन सके चरा संरक्षणका लागि किसान पनि लाग्ने थिए । घेरै चराको संरक्षण हुने थियो ।’
चराको सुन्दरताले आकर्षक गरेपछि ०५० सालमा शाही चराबारे लेखिएको किताब किन्न भनेर काठमाडौं गए । किताब महँगो हुँदा उनी किताब नकिनेर रित्तो हात फर्किए । पछि किताब किन्नका लागि पैसा जम्मा गरे । अनि ०५४ सालमा क्यारोल इन्सकिपले नेपालमा पाइने चराहरू फोटो संकलन गरेर प्रकाशन गरेको किताब ११ हजार रुपैयाँमा किन्ने । अहिलेजस्तो त्यसवेला चराबारे लेखिएको पुस्तक सजिलै पाइँदैन थियो ।
उनले भने, ‘मैले जसको चराबारेकाे किताब हेरेर चरा चिन्ने अवसर पाएँ । उहाँसँग Red Data Birds of Nepal को एउटा कार्यक्रममा भेट भयो । क्यारोल इन्सकिपसँग भेट हुँदा म निकै खुसी भएँ । उहाँसँग निरन्तर रूपमा कुरा हुन्छ । बर्दिया आउँदा मैले सञ्चालन गरेको रोयल टाइगर कटेजमा बस्नुहुन्छ ।’
नेपालमा पाइने चराको संरक्षणका लागि क्यारोल इन्सकिपले काम गरिन् । तर, हाम्रो सरकारले चराहरूको महत्त्व बुझेन । नेपालमा पाइने ८९७ प्रजातिका चरामध्ये बर्दियामा ५२४ प्रजातिका चरा पाइने शाहीले दिए । उनले भने, ‘नेपालमा पाइने चराहरूबारे हामीले प्रचारप्रसार गर्न सकेनौँ । कम्तीमा पनि चराबारे पर्याप्त मात्रामा प्रचारप्रसार हुन सके पर्यटक भित्र्याउन सकिन्छ । पर्यटक आउँदा देशको अर्थतन्त्रमा पनि सुधार आउने थियो ।’
चराहरू विभिन्न जात, प्रकार र रङका हुन्छन् । चराहरू निकै आकर्षक र सुन्दर हुन्छन् । कतिपय चराहरू मानिसको वरिपरि बस्दै आएका छन् । चराहरूकाे आनीबानी बुझ्न सके मौसम र समयबारे पनि थाहा पाउन सकिने शाही बताउँछन् ।
जसरी बाघ पाइने क्षेत्रको रूपमा विश्वले बर्दियालाई चिन्यो, त्यसैगरी ५२४ प्रजातिको चरा पाइने क्षेत्रको रूपमा विश्वमाझ बर्दिया चिनाउने सपना रहेको शाहीले बताए । उनले भने, ‘राज्यले चरा संरक्षणका लागि खासै ध्यान दिन सकेको छैन । राज्यले बाघ, गैँडा, हात्ती संरक्षणका लागि काम गरेजस्तै चरा संरक्षणका पनि काम सकेको छैन ।’
शाहीले चरा संरक्षणका लागि समुदाय र विद्यालय गएर सचेतनामूलक अभियान चलाउनुको साथै जीवनयापन गर्नका निकुञ्जमा घुम्न आउने पर्यटकलाई घुमाउने गरेका छन् । शाहीले पूर्वराजा ज्ञानेद्र वीरविक्रम शाह र इजराइलका राजदूत र अन्य विशिष्ट व्यक्तिलाई निकुञ्ज घुमाएका छन् ।
‘निकुञ्जभित्र घुम्नु भनेको जोखिम लिनु पनि हो । वन्यजन्तु कुन वेला कसरी आउँछन्, थाहा हुँदैन । जनावरहरूले कुनै नीति–नियमको पालना गर्दैनन् । त्यसकारण जंगलको कुनै नियम हुँदैन,’ उनले भने, ‘निकुञ्जमा घुम्न आउने पर्यटकलाई जंगल र जनावरबारे थाहा हुँदैन । त्यही भएर निकुञ्ज घुम्न आउँदा प्रकृति पदप्रदर्शकको आवश्यकता पर्छ ।’
नेपालमा पाइने जैविक विविधताको संरक्षण गर्न र त्यसको प्रचारप्रसार गर्न सकेमा नेपालमा आउने पर्यटकको संख्या बढाउन सकिन्छ । विश्वभर चराप्रेमीहरू पनि छन् । उनीहरूलाई नेपालमा ल्याउने वातावरण सिर्जना गर्न चरा संरक्षण र प्रचारप्रसार गर्न आवश्यक रहेको धारणा शाहीले व्यक्त गरे।