कोशी र मधेशका रास्वपा सांसदसँग सभापति लामिछानेको छलफल

संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन

शनिबार, ९ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग शुक्रबार छलफल गरेका छन् । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा सभापति लामिछानेले संसदीय भूमिकामा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

सभापतिको सचिवालयका अनुसार २१ फागुनको निर्वाचनबाट निर्वाचित सांसदहरूसँग सभापति लामिछानेले कार्यव्यस्तताका कारण वान अन वान छलफल गर्न पाएका थिएनन् । आफ्नो पार्टीका सांसदहरूसँग वान अन वान छलफल गरेर उनीहरूको धारणा सुन्न सभापति लामिछानेले प्रदेशगत रूपमा छलफल थालेको सचिवालयले जनाएको छ ।

शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूले खुलेरै आफ्नो विषय राखेका छन् । सांसदहरूले आफ्नो क्षेत्र र प्रदेशका समस्या, संसद्को अनुभव, पार्टीसँग समन्वय र अपेक्षा राखेका थिए । सभापति लामिछानेले सांसदहरूका धारणालाई सम्बोधन गर्ने प्रयास गरेका थिए ।

सुनसरीका सांसद अशोक चौधरीका अनुसार आफ्नो क्षेत्र र संसद्मा भूमिका कतिको प्रभावकारी छ भनेर ब्रिफिङ गरिएको थियो । उनले किसानलाई मलको मुद्दा राखेका थिए ।

झापा २ की सांसद इन्दिरा रानाले सुकुमवासी समस्याले क्षेत्रमा पनि स्थानीय तहले आतंक सिर्जना गरेको भन्दै सभापतिलाई जानकारी गराएकी थिइन् । कोशी प्रदेशका महामन्त्रीसमेत रहेका सांसद लालविक्रम थापाका अनुसार पार्टी र संसद्लाई जोडेर जाने र पार्टी अधिवेशनहरूलाई अझै प्रभावकारी बनाउन भूमिका खेल्ने कुरा भएको छ । ‘निर्वाचित भएर आएपछि सांसदहरूसँग प्रत्यक्ष वान अन वान कुरा गर्न सभापतिसँग समय थिएन । अहिले समय निकालेर आगामी दिनमा कसरी जाने भनेर खुलेरै छलफल भयो । महाधिवेशनलाई कसरी लिएर जाने, सदन, सरकार, सयवटा कामको प्रतिबद्धता, ती लक्ष्य हासिल गर्न परिश्रम कहाँ छ, अझ छिटो जनतालाई सेवाप्रवाह दिने कुरा कसरी सम्भव छ भन्ने कुराहरूमा बढी केन्द्रित भयो,’ उनले भने ।

छलफलमा सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा उचित समयमा जवाफ दिने जानकारी गराएका थिए । ‘बजेटपछाडि कार्यसूचीमै राखिन्छ । नियम ५६ मै त्यो व्यवस्था छ । उचित समयमा राम्रो जवाफ दिनुहुन्छ । सबै माननीयको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुहुन्छ,’ उनले भने, ‘सरकार र संसद्को समन्वय भई नै रहेको छ । कार्यपालिकाले आफ्नो काम गरेको छ । व्यवस्थापिकाको काम पनि भइरहेको छ । विपक्षीले विरोध गर्न प्रतिपक्षी धर्म निर्वाह गर्नु हो ।’

सभापति लामिछानेले पार्टी, संसद् र मन्त्रालयको समन्वयका लागि महामन्त्री भूपदेव शाहको नेतृत्वमा समिति गठन गरेर समन्वय भइरहेको भन्दै फाइल बोकेर मन्त्रालय नधाउन र मन्त्रीलाई डिस्टर्ब नगर्न निर्देशन दिएका थिए । सभापति लामिछानेले सत्तापक्ष भनेको सरकारकै पक्ष भन्दै त्यहीअनुसार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

सभापति लामिछानेले सुकुमवासी समस्या फास्ट ट्र्याकमा सम्बोधन गर्न गृहकार्य भइरहेको र अब विस्थापन गर्ने कुनै नीति नरहेको स्पष्ट पारेका थिए । ‘केन्द्रीय सरकारको कुनै नीति छैन । बागमतीआसपासको सुरक्षित स्थानान्तरण गरेको हो । तल कहीँ पनि छैन । उच्चस्तरीय आयोग गठन हुन्छ,’ उनले भने ।

मधेश प्रदेशसँगको छलफलमा सर्लाही १ बाट निर्वाचित नीतिमा भण्डारी (कार्की)ले समग्र मधेश प्रदेशको साझा मुद्दाको रूपमा रहेको सिँचाइ समस्या उठाएकी थिइन् । मधेशका सांसदले हुलाकी राजमार्ग, नारायणी प्रादेशिक अस्पताल, सुनकोशी कमला नदीको विषय उठाएका थिए । 

सुझावित समाचार