नेपाली कांग्रेसका सांसद निस्कल राईले सरकार संसद्प्रति उत्तरदायी हुन नखोज्दा सदनको मर्यादा खस्किएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरूले लगातार सरकारको जवाफदेहिता खोज्दा पनि सरकार र सभामुखबाट पर्याप्त सहयोग नपाएको आरोप लगाए।
उनले पछिल्ला बैठकहरूमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन र नीति तथा कार्यक्रमबारे जवाफ दिन दबाब दिँदै आएको उल्लेख गरे। ‘हामीले पटक–पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोज्यौँ, तर सरकारले टेरेन, सभामुखबाट पनि साथ मिलेन,’ उनले भने।
सांसद राईले अर्को प्रतिपक्षी दलले संसदमा प्लेकार्ड प्रदर्शन गर्दै सरकारको खोजी गरिरहेको प्रसंग उल्लेख गर्दै त्यसलाई सभामुखले ‘अमर्यादित’ भनेकोमा आपत्ति जनाए। उनले अहिले सत्तामा रहेको दल विगतमा प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्नेजस्ता गतिविधि गरेको स्मरण गराए।
‘त्यसवेला गरिएको गतिविधि संसदीय र मर्यादित हुने, अहिलेको प्लेकार्ड प्रदर्शनचाहिँ कसरी अमर्यादित हुन्छ ?’ उनले प्रश्न गरे। उनका अनुसार विगत र वर्तमान दुवै प्रकारका गतिविधि गलत र अमर्यादित हुन्।
राईले संसद्को मर्यादा कायम गर्ने प्रमुख जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनलाई बेवास्ता गरिरहेको आरोप लगाए। ‘सरकारलाई संसद् भनेकै एलर्जी भएको छ,’ उनले टिप्पणी गरे। साथै उनले सरकारले ‘क्रमभंगता’को नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासम्म हस्तक्षेप गरिरहेको दाबी गरे।
उनले बहुमतको दम्भका आधारमा संसदीय अभ्यासलाई चुनौती दिइँदा संसद् मर्यादित रहन नसक्ने चेतावनी दिए। सभामुख सदनको अभिभावक भएको स्मरण गराउँदै उनले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउन कडा रुलिङ गर्न आग्रह गरे। ‘जबसम्म प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सकिँदैन, हिजोको निलो स्कार्फ र आजको प्लेकार्ड प्रदर्शन रोकिन्न,’ उनले भने।