साइपाल जान लागेको हिमाली गाउँपालिकाको टोलीमाथि आक्रमण, घाइतेलाई हेलिकाेप्टरबाट सुर्खेत लगियो

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

साइपाल हिमालको आधार शिविर रानीसैनतर्फ जाँदै गरेको बाजुराको हिमाली गाउँपालिकाको टोलीमाथि हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकाका स्थानीयले आक्रमण गरेका छन्। आक्रमणबाट घाइते भएका ६ जनामध्ये चारजनालाई हेलिकाेप्टरमार्फत उपचारका लागि आज बिहीबार दिउँसो करिब १ बजेतिर सुर्खेत लगिएको छ।

लाम्पाटा र रानीसैन क्षेत्रको सीमाविवादलाई लिएर खार्पुनाथ गाउँपालिकाकाे वडा नं. २ र ३ मा पर्ने थालीगाउँ तथा सर्केगाड गाउँपालिकाकाे वडा नं. ३ मा पर्ने रिप गाउँका स्थानीयले हिमाली गाउँपालिका– ३ लाम्पाटामा पुगेको टोलीमाथि कुटपिट गरेका हुन्।

घाइते हुनेहरूमा वडासदस्यसमेत रहेका हिमाली– ३ का पेमा गाराप गुरुङ, उनकी श्रीमती लक्षी गुरुङ, गुम्बा गाउँका नरबहादुर गुरुङ र मिनु कुँवर रहेका छन्। उनीहरूलाई सिम्रिक एयरको हेलिकाेप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए।

स्थानीयको आक्रमणबाट हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा र प्रहरी सहायक हवल्दार महेश धामी पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हिमाली– ३ को फुलिङ क्षेत्रबाट हेलिकाेप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको थियो।

प्रहरीका अनुसार हुम्लाको सर्केगाड गाउँपालिका– ३ रिप गाउँ तथा खार्पुनाथ गाउँपालिका– २ र ३ का स्थानीय करिब डेढ सयजनाको समूहमा लाम्पाटा पुगेका थिए। उनीहरूले रानीसैनतर्फ जाँदै गरेको टोलीमाथि आक्रमण गर्दै कुटपिट गरेका हुन्। घटनास्थलको एक भिडियोमा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापामाथि कुटपिट भइरहेको देखिएको बताइएको छ।

घटना मंगलबार बिहान करिब साढे १० बजे भएको हो। घटनास्थल अत्यन्त विकट भएकाले त्यहाँ फोन सम्पर्क नहुने स्थानीयले बताएका छन्। वडा नम्बर ३ को बौडी क्षेत्रसम्म पुगेर मात्र फोन सेवा चल्ने अवस्था रहेको छ।

हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयसहित ३६ जनाको टोली रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ जाँदै थियो। अध्यक्ष मल्लले टोलीमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भएको आरोप लगाए। उनका अनुसार केही व्यक्तिको मोबाइलसमेत खोसिएको छ।

धनगढी उपमहानगरपालिकाको टोली पनि फर्काइयो
साइपाल र रानीसैन क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि धनगढी उपमहानगरपालिकाको टोली पनि त्यसतर्फ जाँदै थियो। ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ,’ अभियानअन्तर्गत नगर प्रमुख गोपाल हमालको नेतृत्वमा गएको टोलीलाई पनि स्थानीयले लाम्पाटाबाट फर्काइदिएका छन्।

स्थानीयले चुचीखोलामा रहेको काठेपुलसमेत आंशिक रूपमा भत्काएको जनाइएको छ। नगर प्रमुख हमालले स्थानीयले अवरोध गरेपछि आफूहरू फर्किएको बताए।

विवादको कारण
लाम्पाटामा प्रहरी चौकी स्थापना गर्न लागिएको विषयलाई लिएर विवाद चर्किएको हो। सुदूरपश्चिम प्रदेश सरकारले प्रहरी चौकी निर्माणका लागि चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ।

प्रहरी चौकी निर्माणका लागि गुम्बा गाउँका नरबहादुर गुरुङको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो। तर, खार्पुनाथ गाउँपालिकाका स्थानीयले उक्त क्षेत्र हुम्लाको भूमि भएको दाबी गर्दै निर्माण कार्य रोक्न खोजेका थिए।

स्थानीयका अनुसार उनीहरूले निर्माण सामग्री फाल्नुका साथै जग्गा उपलब्ध गराउने वडासदस्य पेमा गुरुङको परिवारमाथि समेत आक्रमण गरेका थिए। लक्षी गुरुङले आफ्नो घर तीन दिनदेखि कब्जामा राखिएको र परिवारलाई धम्की दिइएको बताएकी छन्।

गुम्बा गाउँका स्थानीय छिरिङ फुटी थापाका अनुसार निर्माण कार्यमा संलग्न २१ जनालाई नियन्त्रणमा लिएर केही दिनसम्म रोकिएको थियो। स्थानीयले आफूहरूको पुर्खाैँदेखिको बसोबास रहेको र जग्गाको लालपुर्जासमेत रहेको बताएका छन्।

साइपालको पूर्वी आधार शिविर रानीसैन तथा लाम्पाटा क्षेत्रको सीमाविवादलाई लिएर बाजुरा र हुम्लाबिच लामो समयदेखि विवाद रहँदै आएको छ।

सुझावित समाचार