एमालेमा अब विद्याको भूमिका के ?

ढिलोचाँडो पुनः वाम एकताको सम्भावना बढ्न सक्ने संकेत

बुधबार, ६ जेठ, २०८३
डिजिटल संस्करण

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भए पनि उनको जिम्मेवारीबारे एमाले बैठकमा कुनै पनि छलफल भएको छैन । उनीनिकट नेताहरूले भने पूर्वराष्ट्रपति भइसकेको व्यक्तित्व पदाधिकारी तहको नेता हुने सम्भावना न्यून रहेका कारण जिम्मेवारीबारे कुनै टुंगो नलागेको बताउने गरेका छन् ।

यसअघि भण्डारीको सदस्यता नवीकरणको विरोधमा महासचिव शंकर पोखरेल नै बढी मुखर रूपमा प्रस्तुत हुँदै आए पनि भण्डारीलाई पार्टीमा ‘कमब्याक’ गराइँदा उनी सोमबारको बैठकमा भने पूरै मौन बसेका थिए । 

भण्डारीनिकट नेता विनोद ढकालले पार्टी सदस्यता नवीकरणबाहेकका विषयमा कुनै छलफल नभएका कारण जिम्मेवारीबारे अहिल्यै कुनै निर्णय हुने सम्भावना नरहेको बताए । ‘पार्टीले भर्खरै निर्णय सच्याएको छ, पार्टी हितलाई केन्द्रविन्दुमा राख्दा परिस्थितिजन्य कुरा पनि आउँछन्,’ उनले भने, ‘त्यसैले अहिल्यै जिम्मेवारीबारे कुनै निर्णय हुने सम्भावना देखिँदैन ।’

भण्डारीले पनि सदस्यता नवीकरणलाई लामो प्रतीक्षा गर्नुपर्ने प्रतिष्ठाको विषय बनाइएकाले पनि अहिल्यै जिम्मेवारीबारे कुनै योजना या धारणा बनाउने सम्भावना नरहेको निकटस्थ नेता–कार्यकर्तालाई बताएकी छिन् । सदस्यता नवीकरणपछि उनीसँग भेटघाट गर्ने धेरै नेता–कार्यकर्ताले ढिलोचाँडो पुनः वाम एकताको सम्भावना बढ्न सक्ने संकेत गरेको बताए ।

सचिव पद्मा अर्यालले भण्डारीको जिम्मेवारी छलफलबाटै तय हुने बताइन् । ‘उहाँले के सोच राख्नुभएको छ, त्यस विषयमा अध्यक्षसँग कुरा भएको होला, पार्टीमा पनि विषयहरू आउलान्, त्यसअनुसार नै छलफल भएर तय हुने कुरा हो,’ उनले भनिन् ।

उपमहासचिव योगेश भट्टराईले ढिलै भए पनि सच्चिनु राम्रो भएको बताए । ‘निर्णय जे भयो, राम्रो भयो । व्यक्तिको इच्छालाई प्रतिबन्ध लगाउन हुँदैनथ्यो । त्यतिवेला यही निर्णय गरेको भए सम्मान हुन्थ्यो । पार्टीमा एकता पनि दह्रो हुन्थ्यो । चुनावी परिणाम पनि फरक आउन सक्थ्यो,’ उनले भने ।

सुझावित समाचार