प्रस्तावित प्रधानन्यायाधीश डा. मनाेज शर्माले संसदीय सुनुवाइ समितिमा आफ्नाे कार्ययाेजना प्रस्तुत गरेका छन् । १८ पेजमा उनले आफूले गर्ने कामको फेहरिस्त उल्लेख गरेका छन् । उनले सर्वोच्चमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने जनाएका छन् ।
मुद्दाको दर्ता, फैसलालेखन र कार्यान्वयनसम्मका प्रक्रियाहरूलाई एक वर्षभित्र सूचना प्रविधि प्रणालीमा आबद्ध गर्ने गरी सफ्टवेयर निर्माण तथा मोड्युलहरूको विकास गर्ने उल्लेख गरेका छन् । त्यस्तै, न्यायिक सेवा प्रवाहमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्न आवश्यक सफ्टवेयरसहितको डिजिटल पूर्वाधार स्थापनाका लागि स्रोतसाधनको व्यवस्थापन गर्ने जनाएका छन् ।
न्यायिक कामकारबाहीलाई छिटो, छरितो, सरलीकृत, अनुमानयोग्य, पहुँचयोग्य, पारदर्शी, जवाफदेही र प्रभावकारी बनाउन न्याय प्रशासनसम्बद्ध ऐनमा रहेका अवरोधहरू पहिचान गर्ने उल्लेख गरेका छन् । त्यस्तै, सर्वोच्च अदालतलगायतका अदालतको अधिकारक्षेत्र पुनरवलोकन गर्ने, विशिष्टीकृत अदालतहरूको संरचना परिमार्जन गर्ने, मुद्दा प्रवाह व्यवस्थापन, पेसी व्यवस्थापनलगायतका विषयमा सुझाव पेस गर्ने गरी एक महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उनको दाबी छ ।